इन्द्रजात्रा मनाउन विदेशी प्रतिनिधि आउने

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २३ भदौ: काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रजात्रा पर्व भव्य र सभ्यरुपमा सम्पन्न गर्न सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ । नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहको छलफलमा उहाँले इन्द्रजात्रा अवलोकनका लागि विश्वका विभिन्न देशका पाँच शहरका प्रमुखसहित ४८ जना विदेशी जनप्रतिनिधि आउने पनि भएकाले भव्य बनाउनुपर्ने बताउनुभयो ।

“विगतका वर्षमा इन्द्रजात्रा राष्ट्रिय पर्वका रुपमा मात्र मनाउने गरिएको थियो”, उहाँले भन्नुभयो, “यस पटक हामीले इन्द्रजात्रालाई अन्तरराष्ट्रियस्तरमा पनि पहिचान गराउने अवसर प्राप्त गरेका छौँ । पर्यटन वर्ष २०२० को नजिकमा रहेका बेला अन्तरराष्ट्रिय पाहुना इन्द्रजात्राको अवलोकनका लागि आउने कुरा सकारात्मक हो ।”

प्रमुख शाक्यले अन्तरराष्ट्रिय पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि आउने भएकाले जात्रा सभ्य र भव्यरुपमा मनाई हाम्रो सभ्यताको परिचय दिन हामी सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

सोही अवसरमा उहाँले इन्द्रजात्राका लागि अक्षयकोष बनाउन पहलसमेत भइरहेको जानकारी गराउनुभयो । “अक्षय कोष बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत रुची लिनुभएको छ । हाल रु पाँच करोडसम्मको कोष बनाउने तयारी भइरहेको छ । कार्यविधि बनाएपछि हामी औपचारिकरुपमै अघि बढ्छौँ”, उहाँले भन्नुभयो । यस वर्ष इन्द्रजात्रा पर्व यही भदौ २७ गते परेको छ । इन्द्रजात्राका अवसरमा उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

प्रतिक्रिया