इन्स्टाग्रामबाट आइडिया सिकेर १४ वर्षकी किशोरीले आत्महत्या गरेपछि इन्स्टाग्रामले ल्यायो नयाँ फिचर

रिता घिसिंग

एजेन्सी : इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ फिचर ल्याएको छ । इन्स्टाग्रामले आत्मघाती, भड्काउ तथा आपत्तिजनक सामाग्रीहरुलाई नाबालिग प्रयोगकर्ताको नजरमा पर्नबाट रोक्नका लागि उक्त फिचर ल्याएको हो। उक्त फिचरको नाम सेन्सेटिभिटी स्क्रिन हो । यो फिचरले आपत्तिजनक तस्वीर तथा भिडियो थम्बनेल्सलाई ब्लर गर्नेछ । प्रयोगकर्ताले त्यसमा क्लिक गरेपछि मात्र ती तस्वीर तथा भिडियो देखिनेछन् ।

यस फिचर सुरु भएसँगै अब आफैलाई चोट पुर्याराउने तथा आत्महत्या गर्ने उपाय सिकाउने सम्बन्धी ह्यासट्याग, तस्वीर तथा अकाउन्ट रेकमेन्डेसन सबै ब्लर हुनेछन् । इन्स्टाग्रामका प्रमुख एडम मूसेरीले सेन्सेटिभ स्कृन फिचरको घोषणा गर्दै बेलायती पत्रिका द टेलिग्राफमा दिएको अन्तरवार्तामा एक बेलायती किशोरीको आत्महत्याका तस्वीर इन्स्टाग्राममा सार्वजनिक भएको घटनापछि आफूहरुलाई त्यस्तो फिचर थप गर्ने विषयमा आइडिया प्राप्त भएको बताएका छन् ।

ती किशोरीले इन्स्टाग्राममा रहेका आत्महत्यालाई उक्साउने खालका विभिन्न अकाउन्टहरुबाट तरिका सिकेर आफूले आत्महत्या गरेकी थिइन् । उनका अभिभावकहरुले उनको आत्महत्यासँग सम्बन्धित तस्वीरहरु इन्स्टाग्राममा देखिएका भन्दै आलोचना गरेका थिए । गत हप्तामात्र बेलायती स्वास्थ्य मन्त्रीले फेसबुक, ट्विटर तथा इन्स्टाग्रामलाई यस्ता आपत्तिजनक तस्वीर लुकाउने व्यवस्था गर्न अन्यथा कारवाहीको सामना गर्न चेतावनी दिएका थिए ।

प्रतिक्रिया