इमान्दार भएर काम गर्नुहोस्, ठगी गरेमा छाड्दिनँ : श्रम मन्त्री

admin

काठमाडौं, २३ फागुन : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले कुनै पनि म्यानपावरले सर्वसाधारण युवाबाट गलत तरिकाले पैसा लिने, ठग्ने र ढाँट्ने गरेमा नछाड्ने बताएका छन् । वैदेशिक रोजगार बोर्डले आइतबार आयोजना गरेको पूर्व प्रस्थान अभिमुखीकरणका नयाँ पाठ्यक्रम अनुरुप तालिम सञ्चालनका लागि पुनर्ताजगी तालिमको समापन समारोहमा बोल्दै मन्त्री चौधरीले कुनै पनि म्यानपावरले सर्वसाधारण युवालाई गलत तरिकाले ठगेमा मन्त्रालय र विभाग कारबाही गर्न पछि नपर्ने भन्दै सही तरिकाले काम गर्न र कसैलाई पनि नठगी काम गर्न उनले निर्देशन दिए ।

‘ठगीमा नपर्दासम्म युवाहरू आउँदैनन्, जब ठगीमा पर्छन् तब आउँछन्, त्यो बेलामा ठगेको प्रमाण नै हुँदैन, मन्त्री चौधरीले भने, ‘हातमा लाखौँ लिने र रसिद १० हजार दिने चलनले कारबाही गर्न चुनौती भएको छ, तर अब यसरी चल्दैन, गलत तरिकाले पैसा लिने, ढाँट्ने र ठग्नेलाई मन्त्रालय र विभागले छाड्दैन ।’

मन्त्री चौधरीले गलत काम गर्ने म्यानपावर व्यवसायीलाई कडाइका साथ कारबाही गर्न विभाग र बोर्डलाई निर्देशन पनि दिए । विभिन्न देशमा सरकारी तबरबाटै श्रमिक पठाउन पहल भइरहेको पनि मन्त्री चौधरीले जानकारी दिए । उनका अनुसार, कतारमा पनि आउँदो विश्वकपका लागि सरकारी तबरबाटै नेपाली श्रमिक पठाउने गरी छलफल अघि बढेको छ ।

‘मैले कतारी राजदूतसँग छलफल गरेको छु, विश्वकपका लागि उनीहरुलाई पनि श्रमिक चाहिएको छ, त्यसैले बरु पुरानो श्रम समझदारीको संशोधन गर्दै सरकारी तवर बाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोली बसेर छलफल गर्छौँ,’ मन्त्री चौधरीले भने ।

यस्तै जापानमा श्रमिक पठाउनका लागि पनि कार्यविधि तयार गर्न लागि परेको र इजरायलका सन्दर्भमा पनि अब छिट्टै काम सकिने उनले बताए । श्रम मन्त्री चौधरीले नयाँ परिमार्जन गरिएको पाठ्यक्रमले श्रमिकलाई फाइदा हुने बताउँदै अभिमुखीकरण तालिम थप प्रभावकारी बनाउनुपर्ने बताए । कतिपय सन्दर्भमा प्रमाणपत्र दिने तर अभिमुखीकरण तालिम चाहिँ नलिइएको पाइएको भन्दै श्रम मन्त्री चौधरीले अब मन्त्रालय आफैँले अनुगमन गर्ने पनि उल्लेख गरे ।

प्रतिक्रिया