इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग निर्माण

रिता घिसिंग

मङ्गलबारे, ८ फागुन (रासस): इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग खुलेको छ । दू्रतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ । मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ । 

इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे पुग्ने १० किलोमिटर नयाँ मार्ग खुलेसँगै इलाम बजारबाट झापा पुग्न सर्वसाधारणलाई सहज भएको हो । गतवर्ष निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत रु १४ लाख ५५ हजार र जिल्ला समन्वय समितिको रु दुई लाख ५० हजारमा सडक निर्माण गरिएको हो । 

 

चालू आर्थिक वर्ष २०७५÷७६ मा इलाम नगरपालिकाको रु १५ लाख र प्रदेश नं १ को रु पाँच लाख गरी रु २० लाख लागतमा मार्ग खुलेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी कटुवालले बताउनुभयो । इलामको गोलाखर्क भञ्ज्याङबाट नयाँ ट्र्याक खुलेपछि राकसे हुँदै माई नगरपालिका, दानाबारी र झापाको खुदुनाबारी सडक पुरानो सडकमा यातायात सञ्चालन भएमा भाडादर कम लाग्ने स्थानीय बासिन्दाको भनाइ छ । 

 

उक्त सडकका लागि हाल रणनीतिक सडक योजनाअन्तर्गत रु एक करोड बजेट विनियोजन गरेकाले सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । मेची राजमार्गबाट झापा जोड्न करीब तीन घण्टाको सडकयात्रा तय गर्नुपर्ने बाध्यता रहेकामा अब गोलाखर्क भञ्ज्याङबाट बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापासम्म पुग्न सकिने छ । 

 

आगलागीपीडितलाई करूणाको सहयोग 

 

इलाम नगरपालिका–९ निवासी आगलागीपीडित दुर्गा पौडेललाई अपाङ्गता क्षेत्रमा कार्यरत करूणा फाउण्डेशन नेपालमा कार्यरत कर्मचारीले रु १३ हजार सहयोग गरेका छन् । करूणा फाउण्डेशन नेपालले स्थापना गरेको आकस्मिक कोषबाट रु पाँच हजार र कर्मचारीबाट रु आठ हजार पाँच सङ्कलन गरी पौडेललाई हस्तान्तरण गरेको छ । करूणा फाउण्डेशन नेपालका कार्यक्रम व्यवस्थापक अजित योञ्जनले उहाँलाई मङ्गलवार नगद हस्तान्तरण गर्नुभयो । यही फागनु ३ गते पौडेलको घरमा आगलागी हुँदा करीब रु सात लाखको क्षति भएको थियो । पौडेल शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । 

 

प्रतिक्रिया