उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम प्रस्थान

रिता घिसिंग

प्योङयाङ, १३ फागुन (रासस/सिन्ह्वा) : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँ रेलमा चढेर भियतनाम जानु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

ट्रम्प र किमबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक गर्ने तय भएको छ । उहाँहरुबीचको पहिलो शिखर बैठक गत बर्षको जुनमा सिङ्गापुरमा भएको थियो ।

भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा अगाडि भियतनामको औपचारिक भ्रमण गर्नेगरी हनोई जानु भएको हो ।

किम नेतृत्वको भ्रमण टोलीमा सरकारी तथा पार्टीका उच्चपदस्थ अधिकारीहरु सहभागी हुनु भएको समाचारमा जनाइएको छ ।

किम झण्डै ३ दिन लगाएर चार हजार किलोमिटर यात्रा गरी भियतनामको राजधानी हनोई पुग्नु हुनेछ ।

यसैबीच, उत्तर कोरियाका नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले पक्राउ गरेर सोधपुछपछि रिहा गरिदिएको छ ।

किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले सोधपुछ गरेर रिहा गरेको हो ।

समाचार संस्था एएफपीसँग बोल्दै दुवैजनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताएका छन् ।

दुई नेताको शिखर बैठक हुनु अगाडी नै ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेको अधिकारीहरुले जनाएका छन् । किमको नक्कल गर्ने हावर्ड एक्स खासमा हङ्कङ्का बासिन्दा रहेको जनाइएको छ ।

उनीहरूले उत्तर कोरियाको परमाणु महत्वाकाङ्क्षा कम गराउनु आफ्नो उद्देश्य भएको बताएका छन् ।

प्रतिक्रिया