उपत्यकामा संक्रमण बढेको बढ्यै, अकल्पनीय जोखिम हुन सक्ने

admin

काठमाडौं, असोज १३ : केही सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको छ । मुलुकका कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा छन् ।

उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गए पनि नियन्त्रणका लागि भने सरकारसँग कुनै ठोस योजना छैन् । नियन्त्रण तथा रोकथामको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले संयुक्त प्रयासबिना मन्त्रालय एक्लैले केही गर्न नसक्ने जनाएको छ ।

मन्त्रालयले कोरोना संक्रमण रोक्न उपत्यका बाहिरबाट भित्रिएका मानिस र संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने, उनीहरूको निगरानी गर्नेलगायत काम गरिरहेको छ ।

यसमा सरोकारवाला सबै पक्षको सहयोग भएमात्र संक्रमण नियन्त्रण प्रभावकारी हुन सक्ने मन्त्रालयको भनाइ छ । ‘सरोकारवाला निकाय र नागरिकको सहभागिताबिना स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले काठमाडौंमा कोरोना नियन्त्रण सम्भव हुँदैन,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले भने ।

डा. अधिकारी मन्त्रालयसँगै स्थानीय निकाय, गृह प्रशासन, जनप्रतिनिधिले नियन्त्रणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने र नागरिक पनि स्वयं सचेत बन्नुुपर्ने बताउँछन् । उनी २५ हजारभन्दा बढी सक्रिय सक्रमित भए व्यवस्थापन गर्न नसकिने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् ।

नेपालको स्वास्थ्य प्रणाली कमजोर र सुरुवाती चरणको रहेकाले नागरिक स्वयंले पूर्वसावधानी अपनाए मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्रालयका अधिकारी बताउँछन् । ‘सरकारले के गर्दैछ भन्दा पनि हामी स्वयंले सचेतता अपनाउनु जरुरी छ ।

आफैंले सचेतना अपनाएनौं भने सरकारले केही गर्न सक्दैन । त्यस्तो अवस्थामा कोरोना नियन्त्रण होइन, कोरोनाले हामीलाई नियन्त्रण गर्ने अवस्था आउँछ,’ मन्त्रालयका अर्का एक उच्च अधिकारीले भने ।

उपत्यकालगायत देशभर कोरोना संक्रमण दर बढ्दो छ । संक्रमण बढे अकल्पनीय जोखिम हुन सक्छ । सरकारले अझै जोखिमको पूर्वानुमान गर्ने अवस्था नआइसकेको बताएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनाको जोखिमबारे अहिले नै पूर्वानुमान गर्न नसकिने बताए ।

यो भनाइले पनि सरकार कोरोना संकट समाधानप्रति गम्भीर नभएको बुझिन्छ । यसबाट सरकारले कोरोना असर कुन अवस्थासम्म देखिन सक्छ र नियन्त्रणका लागि के कस्ता उपाय अपनाउन सकिन्छ भनेर गृहकार्य नगरेको पनि स्पष्ट हुन्छ । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

प्रतिक्रिया