उपत्यकावासीलाई आफै स्वाब परीक्षणका लागि अस्पताल जान आग्रह

admin

काठमाडौं, २० साउन : सरकारले कोरोना संक्रमणको जोखिममा रहेको काठमाडौं उपत्यकावासीलाई आफै स्वाब परीक्षणका लागि अस्पताल जान आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर उपत्यकावासीलाई आफै स्वाब परीक्षणका लागि अस्पताल जान आग्रह गरेको हो ।

शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त ठाउँबाट काठमाडौं आएकाले नजिकको स्वाब सङ्कलन केन्द्रमा बिहानको ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब सङ्कलन गरी परीक्षण गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले काठमाडौंमा जोखिम बढिरहेकोले स्वास्थ्य सुरक्षा र सतर्कतामा विशेष जोड दिन पनि आग्रह गरेको छ । सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कन, भिडभाड नगर्न र चाडपर्व घरमै बसी मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले स्वाब सङ्कलनका लागि १४ वटा अस्पताल तोकेको छ । पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, प्रसूति अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, ह्याम्स अस्पताल तथा नेपाल कोरिया मैत्री अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल र नेपाल प्रहरी अस्पतालमा स्वाब सङ्कलनका लागि सम्पर्क गर्न भनिएको छ ।

साथै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल र कोभिड अस्पताल लेभल १, २ र ३ मा पनि स्वाब दिन सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया