उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्याङ्कन हुन्छ : महत

राष्ट्रिय समाचार समिति

भक्तपुर, ११ मङ्सिर: नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्याङ्कनका रूपमा उपनिर्वाचनलाई लिएको बताउनुभएको छ । यही मङ्सिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको सङ्घारमा आज नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावीसभामा उहाँले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले काँग्रेसलाई फेरि रोज्ने बेला आएको बताउनुभयो ।

देशको विकासको जिम्मेवारी काँग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उहाँले उपनिर्वाचनको नतिजा काँग्रेसको पोल्टामा ल्याएर विजय सुनिश्चित गर्न मतदातालाई आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनताले नेकपाप्रति विश्वास गुमाइसकेको जिकिर गर्दै काँग्रेस एक ढिक्का भएर अगाडि बढे काँग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो । काँग्रेसलाई निष्पक्ष उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न पनि आग्रह गर्नुभयो ।

त्यस अवसरमा राप्रपा संयुक्तका केन्द्रीय सदस्यद्वय दिनेश श्रेष्ठ, रविन्द्रप्रताप शाहले राप्रपाको सबै मत काँग्रेसलाई दिने भएकाले यसपटकको उपनिर्वाचनमा काँग्रेसले निर्धक्कसँग जित सुनिश्चित गर्ने बताउनुभयो । विकासमा दुवै दलसँगै लाग्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, काँग्रेस जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री, उम्मेदवार कृष्णलाल भँडेललगायतले अरुले दिएको लोभ प्रलोभन र विकासे नारालाई विश्वास नगरी काँग्रेसको विकासको लक्ष्यलाई विश्वास गर्दै मतदान गर्न आग्रह गर्नुभयो ।

नेमकिपाको सभा
आजै नेपाल मजदूर किसान पार्टीले पनि चुनावीसभाको आयोजना गरेको छ । कमलविनायक भत्केको पाटीमा आयोजना भएको चुनावीसभामा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारको आलोचना गर्दै सीमा सुरक्षामा सरकार कमजोर बनेको आरोप लगाउनुभयो । उहाँले ठूला दलले लोभ र प्रलोभनमा पारेर मतदातालाई प्रभावित पार्न खोजेको भन्दै नेतादेखि उम्मेदवारसम्मले सडक बनाइदिन्छु, जागिर लगाइदिन्छु भनेर आचारसंहिताविपरीत प्रचार गरेको बताउनुभयो ।

उहाँले जनताले यसपटक निष्पक्ष र देशको रक्षा, सार्वभौमिकताको रक्षाका लागि आवाज उठाउने र गरीब मजदूरका लागि आवाज उठाउने नेमकिपाका उम्मेदवार नीरज लवजूलाई मतदान गरी विजयी गराउनेमा नेमकिपा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वसांसद एवं केन्द्रीय सदस्य अनुराधा थापामगर, प्रदेश नं ३ का प्रदेश सदस्यद्वय सुरेन्द्रराज गोसाईं, सिर्जना सैँजू, उम्मेदवार लवजू, केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले जनता भ्रममा पर्न नहुने बताउँदै विकास, नीति निर्माण, सफल प्रतिपक्ष एवं देशको रक्षाका लागि नेमकिपालाई मतदान गर्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया