एकै घरमा ५ सुस्तमनस्थितिका बिजोक देखेसी पत्रकारले गरे उदाहरणीय सहयोग [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। पूर्वी मोरङको इटहरा सिक्किमे टोलको ७२ वर्षीय तुलसीराम ढुंगाना र ५२ वर्षीय सिर्जना ढुंगानाका पाँच सन्तान सुस्तमनस्थितिका छन् । तीन छोरी, दुई छोराको बढ्दो उमेरसँगै यी दम्पतीलाई सधैंको चिन्ता छ, ‘आफूहरूलाई केही भइगए यिनको हालत के होला ?’

४१ वर्षकी निर्मला, ३९ को निर्मल, २८ को उमेश, २७ की पार्वता र २५ की गोमा सबका सब आफूबारे बताउन नसक्ने छन् । देब्रे खुट्टामा चोट लागेपछि शल्यक्रियापछि हाल हिँडडुल गर्न नसक्ने भएका तुलसीरामले भने, ‘मलाई सुगर छ । त्यहीमाथि यस्तो चोट लाग्यो ।’ उनका दुई श्रीमतीबाट ८ सन्तान छन् । जेठीको देहान्तपछि साली सिर्जनालाई भित्र्याएका तुलसीरामका सग्ला-सबल तीन छोरीले आफ्नो घरजम गरिसकेका छन् ।

‘भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न जान्दैनन्,’ उनले भने, ‘आफ्नै घाउ कोट्याएर खान्छन् । महिनावारी हुँदाको फोहोरमै खेल्छन् । बडोे पीर छ ।’ सन्तान सुस्तमनस्थितिका जन्मँदै जाँदा ढुंगाना दम्पतीले परिवार नियोजन गर्ने, रोक्ने उपाय खोजेनन् । यसको परिणाम अहिलेको जीवन कष्टकर छ । पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन आमा सिर्जनालाई हम्मे परेको छ ।

‘सानो छँदा एकखालको हेरविचारले हुने,’ उनले भनिन्, ‘ठूला हुँदै गएपछि सजिलो होला भन्दा अझ बढी अप्ठ्यारो छ ।’ सन्तान बोल्न जान्ने, आफूलाई चाहिएका कुरा माग्न जान्ने भइदिँदा सबैलाई सजिलो हुन्छ । तर, सिर्जनाले सन्तानका दुई भाषा बुझ्छिन्- ‘यो रिसाएको छ, ऊ खुसी भएको छ ।’ एकैपल्ट सबैलाई ध्यान पुर्‍याउनु पर्दा खुसी कसरी होलान् भनेर एकनासको स्याहारका लागि समय पुग्दैन । ‘कतिपल्ट हामी दुवै जना यिनीहरूले के भनेका होलान् भनेर बुझ्दैनौं,’ तुलसीरामले सुनाए ।

ढुंगाना परिवारका खबर इटहरामा मात्रै नभई टाढासम्मका गाउँलेलाई थाहा छ । दुःखजिलो गरेर गुजारा चलाइरहेको परिवार खेतीकिसानीमा आश्रति हो । अहिले त त्यहिँ काम पनि गर्न सक्दैनन् यी दम्पत्ति। शरीर कम्जोर हुँदै गएको छ। छोराछोरी हेर्नु कि काम गर्नु अवस्था छ।

उनलाई निकै अप्ठ्यारो छ । तुलसीरामका अनुसार ढुंगाना दाजुभाइमा कहींकतै कसैलाई नदेखिएको समस्या उनलाई परेको हो । पूरै ओछ्यान नपरेका भएकाले सुस्तमनस्थिति सन्तानहरू सामान्य हिँडडुल गर्छन् । तर, केहीमा कसैको पनि भर छैन ।

पाँच सन्तानले सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत प्रदत्त मासिक एक हजार अपांग भत्ता पाउँछन् । कहिलेकाहीँ भेट्न आउनेले खानेकुरा ल्याइदिने गरेपछि पाँचैजनाको आसे बानी लागेको छ । केही पाइएन भने झगडा गर्छन् ।

बिस्कुट, भुजिया र चाउचाउसहित ढुंगाना परिवारलाई सहयोग गर्न पुगेको पिएनपी मिडियाको टिम सम्पूर्ण दर्शकहरुलाई पनि ढुंगाना परिवारलाई सकेको सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछ । नाजुक अवस्थामा रहेकाहरूका लागि झट्ट केही गर्न सकिएन भने पनि २/४ रुपैयाँ सहयोगका लागि जोसुकैका हात अघि बढ्छन् । समाज दयालु रहेको परीक्षा लिन घर-घर, सडक र धार्मिक आस्थाका केन्द्र आसपास हात फैलाएर बसेकाहरू देख्नु नौलो होइन । तर उनीहरुको भने हात फैलाउनु बाध्यता नै हो । यो बाध्यताको सम्मान गर्दै तपाई पनि हातेमालो गरेर सहयोग गर्न चाहानुहुन्छ भने कृपया हाम्रो फेसबुक पेज पिएनपीखबर डट कममा सम्पर्क गर्नसक्नुहुन्छ ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू