एकै दिनमा ५०० जनालाई नागरिकता

शर्मिला गुरुङ

डोटी, ३ जेठ  : बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । त्यस्तै उक्त शिविरबाट ५०० ले मतदाता परिचयपत्रसमेत लिएका छन् । जिल्ला सदरमुकाम पुगेर नागरिकता लिन नसकेका मानिसलाई गाउँमै गएर नागरिकता वितरण, मतदाता परिचयपत्रलगायतका सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले पाउनुपर्ने सार्वजनिक सेवा जनताको घरदैलोमै पुगेर प्रदान गर्ने अभियान र सुशासन ऐनको मर्मअनुसार घुम्ती शिविर सञ्चालन गरी सदरमुकाम आउन नसक्नेलाई नागरिकता वितरण गरेका छौँ ।” डोटीको सन्दर्भमा अत्यावश्यक अवस्थामा नागरिकता बनाउनेबाहेक तत्कालै आवश्यक नभएमा नागरिकता नबनाउनेको सङ्ख्या बढी भएको पाइएको र जिल्लामा सञ्चालन गरेका घुम्ती शिविरमा बढी सङ्ख्यामा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै उक्त शिविरमा ९६ वर्षीया भागरथीदेवी थापाले पनि नागरिकता पाउनुभएको छ । नागरिकता पाएपछि भागरथीदेवी निकै खुशी हुनुभएको छ । जिल्ला सदरमुकाम टाढा भएको र नागरिकता लिन नसकेकाले घरैमा शिविर सञ्चालन हुँदा नगरिकता लिन आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन टाढा छ, नागरिकता नहुँदा भत्तासमेत पाएकी थिइनँ, गाउँमै नागरिकता पाएँ अब भत्ता पनि पाउने छु ।” नागरिकता नभएका कारण उहाँले हालसम्म मतदानसमेत गर्न पाउनुभएको थिएन ।

यसअघि डोटीको बोगटानफुड्सिल गाउँपालिका, सायल गाउँपालिका, जोरायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिकामा पनि शिविर सञ्चालन भइसकेको र बाँकी अन्य स्थानीय तहसँग पनि समन्वय र सहकार्य गरेर शिविर सञ्चालन गरी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केही स्थानीय तहमा शिविर सञ्चालन गरी नागरिकतालगायतका सेवा प्रदान गरिसकेका छौँ, बाँकी रहेका स्थानीय तहमा क्रमिकरूपमा शिविर सञ्चालन हुनेछन् ।” रासस

प्रतिक्रिया