एकै परिवारका १४ जनामा संक्रमण देखिएपछि नगरपालिकाका सिल गरियो

admin

मोरङ, २० साउन : रङ्गेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोनाको संक्रमण भेटिएको छ । संक्रमण थप फैलिन नदिन तीन दिन नगरपालिकाका विभिन्न वडामा बन्द आह्वान गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले नगरपालिकाको ४, ६ र ७ नम्बर वडा पूर्णरुपमा सिल गरिएको जानकारी दिए । केही दिनअघि मुख्य बजार क्षेत्रमा ७३ वर्षीय वृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यको पहिचान गर्दै सबैको स्वाब नमुना सङ्कलन कार्य भइरहेको उनको भनाइ छ । मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाडौं हुँदै रङ्गेली घर आएका थिए ।

नगरपालिकाका अनुसार झण्डै एक महिनाअघि मृतकका छोरी दिल्लीबाट आएकी थिइन् । दिल्लीबाट आउने क्रममा उनलाई विराटनगर वडा नम्बर १० बाट होटलमा बनाइएको क्वरेण्टीनमा बस्नको लागि अनुमति दिएको नगरपालिकाले जनाएको छ ।

त्यही वडाको सिफारिसको आधारमा उनी रङ्गेली आएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चोकदेखि सुनवर्षा नगरपालिका पश्चिम, चिस्याङ खोला, उत्तरमा निचामारी वक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रभर सिल गरेको हो ।

त्यसैगरी रङ्गेली अस्पतालको आकस्मिक सेवाबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया