एक दिने नेपाल भ्रमण सकेर चीनका रक्षामन्त्री पाकिस्तान गए

admin

काठमाडौं, मंसिर १४ : नेपाल भ्रमणमा आएका चीनका रक्षामन्त्री वेइ फेङहे पाकिस्तान जानुभएको छ । केहिबेर अघि उहाँ पाकिस्तान जानुभएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

बिहान १० बजे काठमाण्डौ आएका उहाँ दिनभरि भेटवार्तामा व्यस्त हुनुभयो । साँझ उहाँले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गर्नु भयो । उहाँहरुबीच दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले सन् २०१६ मा चीन भ्रमणका क्रममा आफूले गरेको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय सम्झौता कार्यान्वयनका क्रममा रहेको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले गएको वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी जिङ पिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो ।

जवाफमा चिनियाँ रक्षामन्त्री फेङहेले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्ना तर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो देशको सम्बन्धलाई जोड्न नहुने बताउनुभएको थियो ।

यस अघि चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नु भएको थियो । त्यहाँ उहाँले सेनाले दिएको सम्मान गारद ग्रहण गर्नुभयो ।

प्रतिक्रिया