एक महिनामा दुर्घटनामा परी ५८ को मृत्यु, २१७ जना घाइते

राष्ट्रिय समाचार समिति

हेटौँडा, २ पुस: प्रदेश नं ३ को उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लामा गत मङ्सिरमा मात्रै विभिन्न दुर्घटनामा परी ५८ जना व्यक्तिको मृत्यु भएको छ भने ८० गम्भीरसहित २१७ जना घाइते भएका छन् । प्रदेश ३ ट्राफिक प्रहरी कार्यालय रामनगरका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा मङ्सिर महिनाभरि ८५ वटा दुर्घटना भयो जसमा १२२ वटा सवारी साधन संलग्न भए । प्रहरीका अनुसार गत महिना ४४ वटा मोटरसाइकल दुर्घटना भयो भने २४ वटा साना गाडी दुर्घटनामा संलग्न भए ।

त्यस्तै २५ वटा ट्रक, ट्रयाक्टर, टिपर दुर्घटनामा परे भने १३ वटा यात्रुबाहक बस पनि दुर्घटनामा परे । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्ण क्षेत्रीका अनुसार मङ्सिरमा चितवनमा सबैभन्दा धेरै दुर्घटना हुनपुग्यो । चितवनमा भएका ५६ वटा दुर्घटनामा ५ जना महिलासहित १९ जनाले ज्यान गुमाएका छन् भने २० जना गम्भीरसहित ५६ जना घाइते भएका छन् ।

त्यस्तै दुर्घटनामा ज्यान गुमाउने सङ्ख्याका आधारमा सिन्धुपाल्चोक दोस्रो हो । महिनाभर जिल्लामा जम्मा दुई वटा मात्र दुर्घटना भएको भए पनि भयानक यात्रुबस दुर्घटनामा १५ जना मानिसको मृत्यु भएको र अर्को एक दुर्घटनामा थप एक जनाको मृत्यु भएको थियो । यसरी गत महिना सिन्धुपाल्चोकमा १० महिला तीन पुरुष, दुई बालिका र एक बालकसहित १६ जनाको मृत्यु भयो भने नौ गम्भीरसहित १९ जना घाइते भए । त्यस्तै काभ्रेमा गत महिना २२ वटा दुर्घटना भएको प्रहरीको अभिलेखमा छ । काभ्रेमा गत महिना एक जना महिलासहित छ जनाको मृत्यु भयो भने गम्भीर १४ सहित २४ जना घाइते भए ।

त्यस्तै दुर्घटना सङ्ख्याका हिसाबले तेस्रो र मानवीय क्षतिका हिसाबले चौथो जिल्ला प्रदेश राजधानीसमेत रहेको मकवानपुर हो । यहाँ गत महिना विभिन्न १६ वटा दुर्घटना भए उक्त दुर्घटनामा दुई महिलासहित पाँच जनाको ज्यान गयो भने आठ गम्भीरसहित १४ जना घाइते भए । गत महिना रामेछाप र दोलखामा भएका दुर्घटनामा तीन÷तीन जनाको मृत्यु भएको छ भने सिन्धुली र धादिङमा दुई÷दुई जनाको मृत्यु भएको छ । प्रदेशका रसुवा र नुवाकोटमा एक÷एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त एक महिनामा भएका दुर्घटनामा मात्र ६५ वटा सवारी साधन क्षति हुँदा एक करोड चार लाख १५ हजार रुपैयाँ बराबरको नोक्सान भएको छ । अधिकांश दुर्घटना चालकको लापरवाही र तीव्रगतिका कारण भएको प्रहरीले जनाएको छ ।

गत महिना भएको ८५ वटा दुर्घटनामध्ये ४१ वटामा चालकको लापरवाही र ३० वटा तीव्रगतिका कारण र बाँकी अन्य कारण दुर्घटना भएको प्रहरीको रेकर्ड छ । प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख जीतेन्द्रकुमार बस्नेत दुर्घटना बढ्नुको थुप्रै कारण रहेको बताउनुहुन्छ । प्रहरीलाई आवश्यकपर्ने प्राविधिक उपकरणको कमी, सीमित अधिकारजस्ता कारण पनि प्रहरीलाई समस्या भइरहेको उहाँको भनाइ छ ।

त्यस्तै प्रदेश नं ३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पुरानो गाडी नियन्त्रण गरेर तथा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिएर दुर्घटनालाई कम गर्न प्रहरी लागिपरिरहेको बताउनुहुन्छ । जिपिएस प्रविधि जडान गरेर सवारी साधनलाई निगरानी गर्नसक्ने हो भने पनि दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ । सवारी दुर्घटना अत्यधिक बढेको भन्दै प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलले दुर्घटना न्यूनीकरणका लागि अधिकतम प्रयास गर्न निर्देशन दिनुभएको छ । सरोकारवाला, सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल गर्दै उहाँले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै निकायको प्रयास हुनुपर्नेमा जोड दिनुभएको हो ।

मुख्यमन्त्री पौडेल दुर्घटना नियन्त्रण गरी धनजनको क्षति रोक्न अपनाउन सकिने उपायको खोजी गरिरहेको बताउनुहुन्छ । बिहान उठेदेखि मानिस मरेको र घाइते भएको कहाली लाग्दो समाचारले धेरै नै पीडा दिएको बताउँदै उहाँले यस्तो अवस्थालाई सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुहुन्छ । दुर्घटना घटाउन मुख्यमन्त्रीको पहल र सक्रियतामा विशेष कार्यदल गठन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले सवारी दुर्घटना न्यूनीकरण र व्यवस्थापन चुस्त बनाउन पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका यातायात व्यवस्था निर्देशक सहदेव भण्डारीको संयोजकत्वमा हेटौँडा उपमहानगर, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि रहने गरी कार्यदल निर्माण गरिएको छ । कार्यदललाई सात दिनभित्र प्रतिवेदन तयार गर्न मुख्यमन्त्री पौडेलले निर्देशनसमेत दिनुभएको उहाँको भनाइ छ ।

प्रतिक्रिया