एक हजार पाँच सय विद्यार्थी दीक्षित

राष्ट्रिय समाचार समिति

बनेपा, ४ पुस : काठमाडौँ विश्वविद्यालयको आज सम्पन्न २५ औँैं दीक्षान्तबाट एक हजार ५४६ जना दीक्षित भएका छन् । दीक्षित हुनेमा १६ जना विद्यावारिधि र ५५ जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरु रहेका छन् ।

दीक्षित हुनेमा मानविकीतर्फ २११, शिक्षातर्फ १६८, इञ्जिनीयरिङतर्फ ३७१, कलातर्फ ४१, व्यवस्थापनतर्फ ४८३ र विज्ञानतर्फ २६० जना रहेको विश्वविद्यालयले जनाएको छ । दीक्षित हुनेमा अर्जेन्टिना, भारत, इजरायल, जापान, केन्या, मालदिभ्स, पाकिस्तान, स्वीडेन, युक्रेन, बेलायत र अमेरिका गरी ११ देशका १३ जना विद्यार्थी रहेका छन् । दीक्षित हुनेमध्ये पुरुष ८६७ र महिलातर्फ ६७९ जना रहेका छन् ।

उत्कृष्ट विद्यार्थी चार जनालाई चान्सलर स्वर्णपदक, भाइस चान्सलर स्वर्णपदक, रणबहादुर शाह स्वर्णपदक र जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक प्रदान गरिएको छ । स्कूल अफ इञ्जिनीयरिङबाट स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने नसला डङ्गोलले चान्सलर स्वर्णपदक, स्कूल अफ आर्टबाट स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने सृष्टि शाक्यले भाइस चान्सलर स्वर्णपदक, स्कूल अफ म्यानेजमेन्टबाट एमबीए तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने राजेश पनेरुले जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक र स्कूल अफ म्यानेजमेन्टबाट नै एमबिए तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने स्पार्टाकस ढकालले रणबहादुर शाह स्वर्णपदक प्राप्त गरेका छन् ।

केयुले पहिलो पटक ल्याण्ड म्यानेजमेन्ट विषयमा विद्यावारिधि उपाधि प्रदान गरिएको जनाएको छ । त्यसैगरी नेपालमा नै पहिलोपटक शुरु गरिएको बीई इन केमिकल इञ्जिनीयरिङका स्नातकहरु सोही क्रममा दीक्षित भएको विश्वविद्यलायले जनाएको छ । त्यस्तै स्कूल अफ ल बाट बीबीएम र एलएलबी गरेका स्नातकहरुलाई पनि पहिलो पटक दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयबाट २५औँ दीक्षान्तबाट दुवै चरणका गरी तीन हजार १५० जना दीक्षित भएका छन् । तीमध्ये १४ देशका २५९ विद्यार्थी रहेका छन् । स्थापना कालदेखि हालसम्ममा काठमाडौँ विश्वविद्यालयबाट ३१ हजार ९४३ जना दीक्षित भएका छन् ।

प्रतिक्रिया