एक हप्तामा दुई मन्त्रीद्वारा राजिनामा

admin

जेनेभा, ११ असोज: स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गर्नुभएको छ । उहाँको राजिनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने समाचारमा जनाइएको छ । उहाँसँगै स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजिनामाको घोषणा गरेका छन् । लेउथर्ड विगत १२ बर्षदेखि सरकारमा रहेर सेवा गर्दै आउनु भएको छ भने उहाँले दुई पटक अध्यक्ष मण्डलको नेतृत्व गर्नुभएको छ । स्वीट्जरल्याण्डमा अध्यक्ष मण्डलको नेतृत्व हरेक एक एक बर्षमा फेरिने व्यवस्था रहेको छ ।

“नयाँ शक्तिहरुलाई ठाउँ बनाइदिने समय आएको छ,” ५५ बर्षिय क्रिश्चियन डेमोक्रयाट लेथार्डले संसदलाई पठाएको पत्रमा भन्नु भएको छ । उहाँले हाल वातावरण, यातायात, उर्जा र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । उहाँ अहिले स्वीजरल्याण्डमा सवैभन्दा लामो समय सरकारमा रहने मन्त्री हुनुहुन्छ । उहाँले सन् २०१९ मा हुने आम निर्वाचनसँग यो राजिनामाको कुनै सम्बन्ध नभएको यसअघि नै बताउनु भएको थियो ।

स्वीट्जरल्याण्डका अर्थमन्त्री जोन स्चेइडर अम्मानले राजिनामा दिने योजना बनाएको बताएको केही दिनपछि उर्जा मन्त्रीको राजिनामाको घोषणा भएको हो । यसै हप्ता अम्मानले पनि यही बर्षको अन्त्यतिर आफुले सरकार छाड्ने योजना बनाएको जानकारी दिनुभएको थियो । उहाँ सन् २०१० मा मन्त्री बन्नु भएको थियो । लिवरल पार्टीका नेता ६६ बर्षिय अम्मानले पनि आफ्नो राजिनामासँग सन् २०१९ मा हुने आम निर्वाचनको कुनै सम्बन्ध नरहेको दावी गर्नुभएको छ ।
-रासस÷एएफपी

प्रतिक्रिया