एनसेलका ३५ टावरमा आगजनी

admin

काठमाडौं ,साउन १७ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्।

टावरमा बुधबार राति र बिहीबार बिहान  भएको आक्रमणपछि कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ। नेकपाले भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरको सोलार प्यानल तोडफोड गरेको छ।

नेकपा कार्यकर्ताले मोरङको पथरीशनिश्चरे नगरपालिका-६ मंगलबारेस्थित एनसेल टावरमा बुधबार राति आगजनी गरेका छन्। आगजनीबाट टावरमा ब्याट्रीको पावर सप्लाई गर्ने पावर प्वाइन्टमा क्षति पुगेको डीएसपी लक्ष्मीराज अधिकारीले बताए। यस्तै नेकपा कार्यकर्ताले धादिङका तीन ठाउँका ३ वटा एनसेल टावरमा आगजनी गरेका छन्। सिद्धलेक गाउँपालिका-६ कुम्पुरडाँडामा रहेको टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ। डीएसपी रूपक खड्काका अनुसार धुनीबेसी नगरपालिका-४ जीवनपुरस्थित एनसेलको टावरमा आगजनी भएको छ। नेकपाले थाक्रे गाउँपालिका-३ जुरेथुममा रहेको टावरमा पनि आगजनी गरेको छ। आगजनीबाट टावरका अब्टिकल केबल, तार र सोलार प्यानलमा क्षति भएको छ।

नेकपा कार्यकर्ताले नुवाकोटको बेलकोटगढी नगरपालिका-४ स्थित दशचरपेटारेमा रहेको एनसेल टावरमा आगजनी गरेका छन्। आगजनीबाट १५ लाख रुपैयाँ बराबरको सामग्री क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।

नेकपाले मकवानपुरको थाहा नगरपालिका ७ चिसापानीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। थाहा नगरपालिका ३ कटुवाल डाँडास्थित एनसेल टावरमा पनि सो समूहले आगजनी गरेको छ। इन्द्रसरोवर गाउँपालिका ३ चिरीभन्ज्याङस्थित एनसेल टावरमा पनि आगजनी गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। उनले भने, ‘तीन वटै ठाउँमा जुटको बोरा बालेर आगजनी गर्ने प्रयास भएको देखिन्छ तर क्षति खासै भएको छैन।’

विप्लव नेकपाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी गरेको छ। दुईवटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमा आगो लगाउँदा सामान्य क्षति भएको छ। विप्लव नेकपाले ललितपुरको कोन्जोस्योम गाउँपालिका-२ मा रहेको एनसेल टावरमा पनि आगो लगाउने प्रयास गरेको छ। बुधबार राति १० बजेतिर नेकपा कार्यकर्ताले टावरमा आगो लगाएर भागेको महानगरीय प्रहरी परीसर जावलाखेलका प्रवक्ता नारायन चिमरियाले बताए।

नेकपाले कास्कीको पोखरा महानगरपालिका-२८ को माझठानाको डाँडागाउँस्थित एनसेलको टावरमा आगजनी गरेको छ। आगजनीबाट ट्रान्समिटर, बिजुलीका तार जलेर नष्ट भएको प्रहरीले जनाएको छ। नेकपा कार्यकर्ताले म्याग्दीको बेनी नगरपालिका-२ खबराको आम्बोट डाँडास्थित एनसेलको टावरमा आगजनी गरेको छ। आगजनीबाट ब्याट्री र जेनेरेटर नष्ट भएका छन्। रूपन्देहीको गैडहवा गाउँपालिका ३ सानी धुपहीमा एनसेल टावरमा आगजनी गरिएको छ। आगजनीबाट तार जलेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए।

प्रतिक्रिया