एपिएफको संघर्षपूर्ण जित, पुलिसको उपाधि यात्रा सकियो

admin

काठमाडौं, फागुन ३ : उपहार गोलबाट अग्रता लिएको एपिएफले पुलिसमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले पुलिसलाई २–१ ले हराउँदै जितको लयलाई निरन्तरता दिएको हो।

पहिलो हाफ गोलरहित बराबरी खेलेका विभागीय डर्बीमा पुलिसले ६९औं मिनेटमा उपहार गोल दिएपछि आफैं दबाबमा परेको थियो। घिमकुमारी गुरुङले गोल गर्दा एपिएफले अग्रताको अवसर पाएको थियो। दबाब दिँदै खेल पस्किएको पुलिसका लागि अमृता जैशीले ७५औं मिनेटमा गोल गर्दै एपिएफविरुद्ध खेल बराबरीमा ल्याएकी थिइन्।

अघिल्ला खेलमा फराकिलो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको एपिएफले खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविना गोलले गोल गर्दै एपिएफको अग्रता २–१ मा पुर्‍याइन्। त्यसपछि दबाबमा परेको पुलिसले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र एपिएफले पुलिसमा संघर्षपूर्ण जित निकाल्न सफल भयो।

रोमाञ्चक जित निकालेको एपिएफले १० औं खेलमा अपराजित यात्रालाई निरन्तरता दिँदा उपाधि नजिकसमेत पुगेको छ। १० खेलबाट स्पष्ट ३० अंक जोडेको एपिएफ शीर्ष स्थानमा यथावत् रहँदा अंक गुमाएको पुलिसको १० खेलबाट १४ अंक भएको छ। पराजयसँगै पुलिसको उपाधि उचाल्ने समीकरण समाप्त भएको छ।

लिगअन्तर्गत सोमबारै सम्पन्न भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिका स्याङ्जालाई १–० ले स्तब्ध बनाएको छ। ३५औं मिनेटमा भारतीय खेलाडी आशा कुमारीले गरेको गोल निर्णायक बनेको थियो।

विपक्षी खेलाडीले लडाएपछि प्राप्त फ्रिकिकमा आशा कुमारीले बललाई जाली चुमाउन सफल भएकी थिइन्। पहिलो हाफ लिएको अग्रतापछि दोस्रो हाफमा खेलमा फर्किने संघर्ष गरेको वालिङले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिन बाध्य भएको हो।

जितसँगै विराटनगरले १० खेलबाट १३ अंक जोडेको छ। विराटनगर तालिकाको पाँचौ स्थानमा रहँदा अंक सुम्पिएको वालिङको १४ अंक छ। वालिङ तालिकाको तेस्रो स्थानमा छ। पुुलिससँग समान अंक भए पनि गोल अन्तरका आधारमा वालिङ तेस्रो स्थानमा अटाएको हो।

प्रतिक्रिया