एमालेद्वारा विभिन्न प्रतिवेदन पारित, ओलीको प्रतिवेदनमा भुषालले राखे तीन बुँदामा फरक मत

admin

काठमाडौं, १० असोज : नेकपा एमालेले विधान महाधिवेशनमा पेस गरिने विभिन्न प्रतिवेदन पारित गरेको छ । आइतबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित भएका हुन् ।

तीन प्रतिवेदनमा एमाले उपमहासचिव घनश्याम भुषालले फरक मत राखेका छन् । उनीनिकट एक नेताका अनुसार भुसालले राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादबारे प्रष्ट नभएको भन्दै फरक मत राखेका हुन् । आइतबार अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि भुसालले मौखिक रुपमा आफ्नो ३ बुँदे फरक मत दर्ज गराएका हुन् ।

भुसालले जवजबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे पनि प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै अध्यक्षको प्रतिवेदनमाथि फरक मत दर्ज गराएका हुन् । यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले संसद विघटनको बचाउ गरेका थिए । ओलीले गत पुस र बैशाखमा प्रतिनिधि सभा विघटन गरेका थिए ।

दुबै पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन असंवैधानिक भएको आदेश दिएको थियो । सर्वोच्चले नेपालको संविधानमा संसदबाट नयाँ सरकार बन्न सक्ने अवस्था रहुन्जेल संसद विघटन नहुने व्यवस्था रहेको व्याख्या गरेको छ । कुनै प्रधानमन्त्रीले चाहँदैमा संसद विघटन हुन नसक्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया