एमालेमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने जिम्मा भीम रावललाई

admin

काठमाडौं, ११ असोज : नेकपा (एमाले)ले १० बुँदे कार्यान्वयनको क्रममा देखिएका समस्याको समाधान गर्ने जिम्मा भीम रावल नेतृत्वको कार्यदललाई दिएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले यसअघि भएको ६ जनाको कार्यदलको संयोजकको जिम्मेवारी भीम रावललाई दिएको हो ।

यसअघि ६ जना रहेको कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पनि थप गरिएको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । कार्यदललाई सातै प्रदेशमा देखिएका अप्ठ्यारा, विभागमा देखिएका समस्या र केन्द्रीय सदस्यसम्मको कार्य जिम्मेवारी ताेक्नेसम्मकाे जिम्मेवारी दिइएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘१० बुँदे आतंक होइन, सहज ढंगले कार्यान्वयन हुन्छ । केही ठाउँमा समस्या देखिएका छन् । त्यसलाई रचनात्मक तरिकाले कार्यान्वयन गर्दै समाधान गरिन्छ । ७ सदस्यीय कार्यदलको बैठकले १० बुँदेकाे कार्यान्वयन गर्नेछ । त्यसका लागि भोलि बैठक बस्नेछ । आजको बैठकले कार्यदलमा शंकर पोखरेललाई थप गरेको छ । कार्यदलको संयोजकको जिम्मेवारी भीम रावललाई दिएको छ । लेखराज भट्ट पनि कार्यदलमा हुनुहुन्छ ।’

सचिव भट्टराईले १० बुँदेको कार्यान्वयनको सन्दर्भमा व्यापक छलफल भएको जानकारी दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयनको प्रतिवद्धता जनाउनुभएको जानकारी दिनुभयो । हिजो गुटगत रुपमा फरक क्रियाकलापमा संलग्न तथा माओवादीबाट आएकाहरूलाई सम्मानित तरिकाले पार्टीको जिम्मेवारी दिनेमा अध्यक्ष ओली सकारात्मक हुनुभएकाे भट्टराईले बताउनुभयो ।

यस्तै, बैठकले एमालेले समाजवादको दिशामा अघि बढ्ने निर्णय पनि गरेको छ । जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा आजसम्मका क्रान्ति सफल भएकाे निष्कर्ष निकाल्दै एमालेले बहुदलीय जनवादको कार्यदिशा अहिले नै पूरा नभएको जनाएको छ ।

एमालेले समाजवादको दिशामा अघि बढ्ने निर्णय गरेको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । एकीकृत कम्युनिष्ट बनाउने एमालेको प्रमुख कार्यभार भएको निष्कर्ष निकाल्दै एमालेले कम्युनिष्टलाई एकीकृत बनाउँदलै अघि बढ्नेमा पनि जोड दिएको छ ।

प्रतिक्रिया