एमालेलाई बधाई दिँदै नेता श्रेष्ठ भन्छन्, अब माओवादीले अरूको विरोधमा समय खेर नफालौं !

admin

काठमाडौं, ३१ बैशाख : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादी केन्द्रले अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन् । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विवाद समाधानतिर गइरहेका बेला नेता श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘हाम्रो पार्टी र अन्य कम्युनिस्ट क्रान्तिकारीहरू, मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन । देशभक्ति, क्रान्तिनिष्ठता, सिद्धान्तनिष्ठता र जनसेवालाई आत्मसात् गर्दै व्यवस्थितरूपमा वैचारिक-सांस्कृतिक रूपान्तरण र सङ्गठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ ।’

नेता श्रेष्ठले वैचारिक छिपछिपेपन, विधि-पद्धतिको अवज्ञा, व्यक्तिवाद, सङ्कीर्णता, अनेकता, गुटबन्दी, भ्रष्टीकरणबाट माथि उठ्न र त्यसविरुद्ध सङ्घर्ष गर्न पनि दृढ रहनुपर्ने बताएका छन् । यति भए मात्रै क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सकिने उनको भनाइ छ ।

अहिलेको अवस्थामा भने तत्काल सिङ्गो पार्टी पङ्क्ति कोरोना महामारीसँग जुध्न स्वयंसेवामा जुट्न नेता श्रेष्ठले आग्रह गरेका छन् । बिहीबार बूढानीलकण्ठमा एक व्यवसायीको घरमा एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको छ । भेटपछि छलफल सकारात्मक भएको नेता नेपालले प्रतिक्रिया दिएका छन् । त्यही भेटपछि नेपालतर्फका सांसदको राजीनामा पनि टरेको थियो ।

प्रतिक्रिया