एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने

admin

काठमाडौं, २८ वैशाख : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो ।

पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका हुन् । एमाले संसद्ीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दलसम्बन्धी ऐन र एमालेको विधानबमोजिम कारबाही हुने’ प्रस्ट पारेका छन् ।

नेपाल समूहको सोमबार नै बसेको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगरी अनुपस्थित हुने निर्णय गरेको हो । सामूहिक राजीनामा दिने चर्चाबीच नेपाल समूहमै मतभेद भएपछि अनुपस्थित हुने निर्णय भएको थियो ।

अनुपस्थित समानुपातिक सांसदलाई भने कानुनबमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवार जिताउनेबारे नेतृत्व तहमा छलफल भएको स्रोतको दावी छ । ८ समानुपातिक सांसदहरू रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको हो ।

प्रत्यक्ष निर्वाचित २० सांसदको हकमा अहिले केही नगर्ने र पार्टी एकताका लागि अझै उनीहरुलाई मौका दिइने एक एमाले नेताले राजधानीलाई बताए । नेपाल समूहले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमालेलाई २ जेठ २०७५ कै अवस्थाबाट अघि बढाउनुपर्नेमा जोड दिँदै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया