एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

admin

भरतपुर, ९ मङ्सिर : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ ।

महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ ।

गैँडाको मस्कट तयार
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो ।

चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ । मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिएको छ । यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा छ ।

उद्घाटन सत्रमा लाखौँ कार्यकर्ता सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी प्वाइन्ट निर्माण गरिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा चित्रकला
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएके छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ कलाकारले चित्र कोरेका छन् । होटलको २०० मिटर लामो पर्खालमा कलाकारले चित्र कोरेका हुन् ।

महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला सङ्घ र प्रगतिशील ललितकला सङ्घको आयोजनामा चित्रकला आयोजना गरिएको हो । विसं २०५५ देखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिङ्कका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणामा चित्र कोरिएको बताउनुभयो ।

करिब २०० लामो पर्खामा कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीले चित्र चित्रकलामा भाग लिएका जानकारी दिनुभयो ।

कलाकारले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिह्नभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्र कोरेका छन् ।

उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने बताइएको छ ।

प्रतिक्रिया