एमाले विसर्जनको संघारमा छ, सबै मिलेर जोगाऔँ : नेपाल समूह

admin

काठमाडौं, ९ बैशाख : नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विसर्जनमा जान लागेको आरोप दोहोर्‍याउँदै एकताको अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेता नेपाल निकट नेताहरुले एक अपिलपत्र सार्वजनिक गर्दै नवौं महाधिवेशनपछि ओली स्वेच्छाचारी ढङ्गले चलिरहेकै कारण कम्युनिस्ट आन्दोलन नै विसर्जन हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएका छन् ।

विशाल आन्दोलनको स्वरुपमा रहेको एमालेलाई अध्यक्ष ओलीले विसर्जनको दिशामा पुर्‍याएको र उनी श्रमजीवी, सहिदका सपना तथा आन्दोलनको मार्गबाट टाढा गएको अपिलमा उल्लेख छ । पार्टीलाई एक बनाउन र विधि तथा पद्दतिमा चल्नका लागि सचेत बनाउनेहरुलाई ओलीले शत्रुजस्तो ठानेर पार्टीका नेताहरुलाई स्पष्टीकरण र कारबाहीको नाटक गरिरहेको पनि माधव नेपाल पक्षीय नेताहरुको आरोप छ ।

केपी शर्मा ओलीले अहिले समातेको बाटोले एमाले विसर्जनतर्फ जानेमा शङ्का नरहेको नेताहरुको दाबी छ । अध्यक्ष ओलीको कदमका कारण एमालेको सङ्गठन तहसनहस भएको यसलाई बचाउन ओलीसहित पार्टीका सबैजना जिम्मेवार बनेर पार्टीलाई फुटबाट जोगाउन पनि माधव नेपाल पक्षका नेताहरुले अपील गरेका छन् । २०७५ सालको जेठ २ गतेको अवस्थाबाटै पार्टीलाई एक बनाउन सकिने भएकाले पार्टी एकताको पक्षमा जोड गर्न नेताहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया