एस्ट्रोजेनेकाद्वारा खोपका विषयमा आत्म केन्द्रीत नबन्न आग्रह

admin

काठमाडौं, १३ माघ : अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भाइरस (कोभिड-१९) को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्रोजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ ।

एस्ट्रोजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वर्ल्ड इकोनोमिक फोरम’को विद्युतीयमाध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताए ।

‘कोभिड-१९ विरूद्धको खोपको आगमन विश्वव्यापी खुशी मनाउनको लागि एक आधार हुनसक्दछ तर खोपका लागि आत्म केन्द्रीत व्यवहार अनपेक्षित तथा चिन्ताको विषय हो’ उनले भने । ‘विश्वव्यापी रूपमा भन्नुपर्दा हामी यो महामारीको लागि अझ राम्रो तयारी गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छ ।’

सोरियटले भने, ‘कोरोनाभाइरसले २० लाखभन्दा बढी व्यक्तिको ज्यान लिएको छ तर यसले अन्तर्राष्ट्रिय सहकार्यका लागि आँखा खोलिदिएको छ । विश्वका धेरै देशमा सरकारी तथा निजी क्षेत्रलाई समन्वय गरी अघि बढ्न यसको पाठ ग्रहणीय छ ।’

औद्योगिकिकरण भएका विश्वका प्रमुख राष्ट्रहरूले रोकथामका लागि स्वास्थ्यक्षेत्रको मात्रै तीन प्रतिशत रकम खर्चिन सुखद् नभएको उनले बताए । त्यही तीन प्रतिशत अन्तर्गतको २० प्रतिशत रोग पत्ता लगाउन र निर्मुलीकरणमा लगाइएको छ ।

उनले भने ‘यसको अर्थ हामीहरू रोग पत्ता लगाउन र यसलाई रोकथाम गर्न वा समस्यालाई सम्बोधन गर्न प्रयास गर्नको सट्टा रोग लाग्न वा बिमारी हुनको लागि प्रतीक्षा गर्न खोजिरहेको आभास भइरहेको छ । यो पक्कै पनि सुखद् होइन ।’

प्रतिक्रिया