ऐतिहासिक जितसँगै नेपाल फाइनलमा

admin

काठमाडौं, १४ मङ्सिर : नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलमा कम्तीमा पनि रजत पदक पक्का गरेको छ । शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको हो ।

नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपाल सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । यसपटक नेपाल घरेलु भुमिमा भएको प्रतियोगितामा फाइनलमा पुग्न सफल भएको हो । यसअघि नेपालले १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५–१४ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि नेपालले २५–१८ को सहज जित निकालेको थियो । एक समयमा ९ अंकको आरामदायी अग्रता लिएर पनि श्रीलंका खेलमा फर्कदा नेपाल दवावमा परेको थियो । तर, नेपालले त्यसपछि केही अंक गुमाएपनि जित निकाल्न सफल भयो ।


तेस्रो सेटमा शुरुवात देखि नै श्रीलंकासँग पछि परेपनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो । लगातार दुई अंकले पछि परेको नेपालले ११ अंकमा बराबरी गर्न सफल हुदै अग्रता लिँदै २५-२१ को जित हात पार्न सफल भएको थियो । अब नेपालले उपाधिको लागि मंगलबार भारतको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया