ओलीद्वारा तेस्रो पटक प्रधानमन्त्रीको सपथ, पुरानै मन्त्रिमण्डललाई निरन्तरता

admin

काठमाडौं, ३१ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले पथ तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले समेत सपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ व्यक्तिलाई मन्त्रिपरिषदमा सामेल गराउने भन्दै अहिलेलाई पुरानै मन्त्रीहरूलाई नियुक्त गरेका हुन् । गएको सोमबार प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि (हिजो) बिहीबार बेलुकी ९ बजेसम्मको समय दिएकी थिइन् ।

तीन दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके फेरि संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ । ७६ को उपधारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधि सभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । तर धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधि चुनावमा जान्छ ।

यस्तै ईश्वर पोखरेलले पनि उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।

प्रतिक्रिया