ओलीलाई प्रधानमन्त्रीको सपथ आजै, माधव नेपाल पक्षधर चार जना मन्त्री हुने

admin

काठमाडौं, ३० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा आजै सपथ खुवाउने तयारी गरिएको छ । राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको बताइएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओलीले फेरि प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन् ।

यसअघि संसदमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । यसमा नेपाली कांग्रेसले तयारी पनि गरेको थियो । तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले सहयोग नगर्ने बताएका थिए ।

संसदमा विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेमा माधवकुमार नेपाल समूहसँग वार्तालाई तीव्र बनाएको ओली पक्षले अन्ततः माधवकुमार नेपालसँग सहमति गरेको छ । ‘आजै माधव नेपाल पक्षधर चार नेता मन्त्री हुँदैछन्,’ स्रोतको दाबी छ, ‘सबैलाई सपथ खुवाउने तयारी भइसकेको छ ।’

आज प्रधानमन्त्रीका रुपमा सपथ लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि केही दिनपछि संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । यसपटक जसपाका महन्थ ठाकुर पक्षले सहयोग गरेको खण्डमा प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने देखिन्छ ।

प्रतिक्रिया