असफल ओलीसत्तासँगै सकियो गणतन्त्रको औचित्य

admin
  • शेखर जंग रायमाझी
    पुनरुत्थानवादी शक्ति नेपाल (संयोजक)

काठमाडौं, १५ जेठ : दुईतिहाई बहुमतको नेकपाको वर्तमान सरकारले कोरोना महामारीको बीचमा सत्ता परिवर्तनको जुन घृणित खेल अहिले खेलिरहेको छ, यसले सरकार मात्रै होइन, व्यवस्था नै परिवर्तन गर्नुपर्ने र देशलाई राजासहितको हिन्दू प्रजातान्त्रिक शासन प्रणालीमा फर्काउनुपर्ने आवश्यकतालाई पुनः पुष्टि गरेको छ ।

अब देशमा एकदलीय कम्युनिष्ट तानाशाहीको असफल अभ्यासलाई विस्थापित गरेर देशबाट धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई नै बिदा गर्नुपर्ने बेला आएको छ । यो सरकारको परिवर्तन मात्रैले देशको आवश्यकता र जनताको चाहना पुरा हुनेछैन् । त्यसैले सरकार होइन, शासनसत्ता र व्यवस्था परिवर्तनका लागि सबै राष्ट्रवादी शक्ति एकजुट भएर यो भित्रभित्रै धमिरा लागेको शासन व्यवस्थाको विकल्पमा सडकमा उत्रनुपर्ने आजको आवश्यकता हो ।

१- भ्रष्ट ओलीतन्त्र देशलाई बोझ :
अहिले केपी ओली सरकार गाउँ गाउँमा सिंहदरवारको नाममा स्थानीय तहलाई भ्रष्टाचारको अखडामा रुपान्तरण गरिरहेको छ । लोकतन्त्रका नाममा यो भ्रष्ट ओलीतन्त्र स्थानीय, प्रदेश र केन्द्रमा हालीमुहाली गरिरहेको छ ।

लोकतन्त्रका छाता ओढेर भ्रष्टाचारको नाँगो नाच देखाउने ओली सरकार देशलाई कंगाल र जनतालाई बेहाल बनाउन मात्रै केन्द्रीत रहेकोले यसको औचित्य सकिएको छ अब । अहिलेको ओली सरकार भ्रष्टाचारको संरक्षक र प्रवद्र्धक बनेको छ ।

कोरोना भाइरस महामारीको बेला स्वास्थ्य सामाग्री खरीद गर्दा नै १०औं गुणा बढी मुल्यमा आफ्ना मान्छेलाई ठेक्का दिएर यो सरकारले महामारीलाई पनि कमाउने मौका बनाएको छ । भ्रष्टाचारकै आरोपमा गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए भने हेलिकप्टर दुर्घटनामा मारिएका तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारी पनि वाईडवडी जहाज खरीद प्रकरणमा भ्रष्टाचारमा मुछिएका थिए ।

वालुवाटार काण्ड, सुन काण्ड, निर्मला हत्या काण्ड जस्ता काण्डैकाण्डको पर्याय हो ओली सरकार । केपी ओली सरकार विरोधी पार्टीका साँसद अपहरण गर्ने काम आफ्नै साँसदहरु र पूर्व आईजीपीलाई दुरुपयोग गरेर गरिरहेको छ । आफैं दुईतिहाई बहुमतमा रहेका प्रधानमन्त्री ओली विपक्षी साँसद अपहरणको असफल हर्कत गर्छन । यो सत्ताको गुण्डाराज अब विस्थापित गर्नैपर्छ ।

२- दलीय राष्ट्रपति, व्यवस्थाको खारेजीको आधार :
राजा सबका साझा र विवादभन्दा माथि रहने नेपाली परम्परामा गणतन्त्रका नाममा पार्टीतन्त्र हाबी भयो । अहिले केपी ओली राष्ट्रपतिलाई गैरसंवैधानिक र गैर आचरणका काम गर्न लगाउदै राष्ट्रपति संस्थालाई सबैभन्दा बदनाम र झल्लु बनाउने उल्लु काममा दुरुपयोग गरीरहेका छन् ।

सहयात्री नेपाली काँग्रेस बिनाको संवैधानिक परिषद गठन गर्न असफल अध्यादेश राजनीति गरेर उनले आफ्नै खुट्टामा बन्चरो हानेका छन् । दलभित्र र बाहिरको विश्वास गुमाउदै गएका छन् । काँग्रेस, नवगठित जनता समाजवादी दल र राप्रपा समेत सरकारको बिरोधमा गएको पछिल्लो अवस्थाले सरकार मात्रै होईन व्यवस्था नै खारेज गर्नुपर्ने आवश्यकता प्रमाणित भैसकेको छ ।

ओली सरकार दुईतिहाई बहुमतको चरम दुरुपयोग गरेर सर्वसत्तावादी र स्वच्छाचारी बन्दै जादा राष्ट्रपति सरकारको रबरस्टाम्प बन्नुले राष्ट्रपति संस्थाकै औचित्यमाथि प्रश्न उठेको छ । उसले गत सोमवार जारी गरेर शुक्रवार खारेज गरेका दुई अध्यादेश ओलीसत्ताको निरंकुश सत्ताको नयाँ असफल अभ्यास थियो ।

तर, पार्टीभित्रै र बाहिरको चर्को दबाबले ऋध्यादेशको लिस्नोबाट ओलीको निरंकुशता नजन्मदै तुहियो । ओली सरकार मै खाउँ मै लाउँ, सुख सयल वा मोज मै गरौं भन्ने एकाँकी निरंकुश चरित्रको पर्याय भएकोले जनताको नाममा कमाउने धन्दामा लागेको सरकार अब जनताको आवश्यकता होइन ।

३- कम्युनिष्टका नाममा एकतन्त्रीय निरंकुशता :
जनभावनाको कदर गर्न त परै जाओस ओली सरकार आफ्नै पार्टीकोसम्म कदर गरेर चल्न सकेको छैन् । नेकपाभित्र पछिल्ला दिनमा चलेको सरकार विरोधी ताण्डव त्यसैको उदाहरण हो । केपीओली बाहेक नेकपा शक्ति नै ओलीराजका विरुद्ध लागेकोले यसको औचित्य समाप्त भएको स्पष्ट छ ।

अहिले केपी ओली पार्टी अध्यक्ष पनि आफैं, मन्त्रीमण्डलमा पनि आफ्ना अन्ध समर्थक र धुपौरेहरुलाई मात्रै स्थान दिईरहेका छन् । नाममा नेकपाको तर असलीयतमा केपी ओलीले आफ्नो गुट र टुकडीको सरकार मात्र चलाईरहेका छन् । पार्टीले वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने गरी गरेको निर्णयलाई उनले धज्जी उडाउदै बिना साँसदका अलोकप्रिय व्यूँरोक्रयाट डा. युवराज खतीवडालाई अर्थमन्त्री बनाएर एकमनावादी ओलीवादको नग्न नमुना र पार्टी निर्णयको उपेक्षा देखाइरहेका छन् ।

प्रधानमन्त्री ओली वा कुनै पनि मन्त्री कोरोना महामारीमा जनताले पाएको दुखप्रति संवेदनशील छैन्न । केबल कुर्सीमा बसेर कमाउने ध्याउन्नमा केन्द्रीत छन् ।अहिले केपी ओली पार्टी र सरकारको सत्ता आफ्नो बिर्ता बनाउने प्रयाशमा छन् ।अहिले केपी ओलीको सत्ता पार्टीलाई दिनदिनै हरेक मुद्धामा बदनाम र विवादमा फसाउने सरकारी खुफिया जस्तो भएको छ ।

जनता र पार्टीको मत्लव छैन, आफू मात्रै हिरो हुने छदमभेषी र संकीर्ण प्रवृत्तिले वर्तमान ओली सरकार आफ्नो खुट्टामा आफै बन्चरो हान्ने कालीदासपथमा रहेकोले यसको औचित्य सकियो । पार्टीले सरकार चलाउने होईन की सरकारले पार्टी चलाउने उलटो ओली अभ्यास निरंकुशताको नयाँ प्रयाश हो ।

४- राष्ट्रवादको नक्कली मुकुण्डो :
२०७२ को भूकम्पपछिको नाकाबन्दीकालमा देखिएको ओलीको राष्ट्रवादी छबी सत्तामा पुग्ने छद्मभेष रहेको प्रमाणित भैसकेको छ । केपी ओलीको अहिलेको सरकार इतिहासदेखि नेपालकै रहँदै आएको कालापानी भारतले आफ्नो नक्शामा पारिसक्दा पनि त्यसको विरोध गर्न सकिरहेका छैन्न । जसो जसो भारत उसै उसै जिहजुरी गर्दैमा केपीओेलीको नक्कली राष्ट्रवादको मुकुण्डो उदाँगो हुदैछ ।

देशभित्र पार्टी र अन्य दलसंग शान्ति, सहकार्य र मेलमिलापको राजनीतिका लागि बिफल ओली सरकार भ्रष्ट, बिद्रुप र कप्टी तथा संकीर्ण र निकै राक्षसी चरित्रको पर्या भएको छ र त्यसका खलनायक भैरहेका छन् केपी ओली । नक्कली राष्ट्रवादी र दानवीरको मुकुण्डोमा राज्यदोहन गर्नेहरुको घेराबन्दीमा परेर देशलाई लुटको अखडा बनाईरहेका छन् केपी ओली ।

केपीओली विचौलियाहरुका सरकारका नाईके मात्रै साबित भएका छन् ।त्यसले असफल सरकार र शासनको औचित्य सकिएकोले अब यसको विकल्पमा सबै जनताले राजासहितको प्रजातान्त्रिक व्यवस्थाको पुर्नस्थापनाका लागि पुनः एकपटक निर्णायक संघर्ष गर्नु आज समयको माग हो ।

प्रतिक्रिया