ओली नेपालको ‘वान टु वान वार्ता’ छिटै हुन्छः रघुजी पन्त

admin

काठमाडौं, १८ साउन : नेकपा एमालेको माधव नेपाल पक्षीय संसदहरुको बैठकले पार्टी अहिले नै सरकारमा नजाने पार्टी एकता गर्न पहल गर्ने निष्कर्ष निकालेको छ।

त्यस्तै एकताको वातावरण बिगार्ने गरी दुवै पक्षबाट सार्वजनिक अभिव्यक्तिहरु आउन नहुने निचोड निकालेको हो। दुवै पक्ष संयमित र संवेदनशील भएर एकतामा अघि बढ्नु पर्ने बैठकमा नेताहरुले बताएका छन्।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै स्थायी समिति सदस्य रघुजी पन्तले कार्यदल र वार्तामा संलग्न स्थायी समिति सदस्यहरुले एकता प्रक्रियाबारे जानकारी गराएको बताए। कुनै पनि पक्षबाट सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयनमा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने विषय उठेको उनले बताए।

‘पार्टी एकतालाई कमजोर पार्ने कार्यमा दुवै पक्षका नेताहरु सामेल हुनु हुँदैन भन्नेमा विचार विमर्श भयो,’ उनले भने, ‘संयमित र जिम्मेवार भएर गम्भीरतापूर्वक अघि बढ्नु पर्नेमा सबैको सहमति रह्यो।’

शीर्ष नेताहरुको निर्देशन र सल्लाहअनुसार एकता अघि बढिरहेको हुँदा बाहिर कसले के बोल्यो भन्ने महत्वपूर्ण नहुने पन्तको भनाइ छ। उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटघाट र कुराकानी हुने आशा व्यक्त गरे।

‘उहाँहरुको भेटघाट छिट्टै हुन्छ, तर मिति नसोध्नुस्। भेटघाट हुँदैछ भन्ने बुझेको छु।’ आफूहरुले छुट्टिने कुरा कहिले पनि नगरेको भन्दै पन्तले पार्टीलाई बलियो र एकताबद्ध बनाउने प्रयास जारी राख्ने बताए।

प्रतिक्रिया