आजको वार्ता सकियो, खुसी मुद्रामा केपी ओली र माधव नेपाल

admin

काठमाडौं, ९ बैशाख : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुल्न बाँकी रहेको छ । बुधबार साँझ भएको वार्तामा भने ठोस सहमति जुट्न सकेको थिएन । 

बिहीबार छलफलकै क्रममा ओली र नेपालले होटलको झ्यालबाट धरहरा नियालेको तस्बिर पनि सार्वजनिक भएको छ । तस्बिरमा दुवै नेता प्रफुल्लित अवस्थामा देखिएकाले छलफल सकारात्मक भएको हुन सक्ने एमालेका नेतारकार्यकर्ताले अनुमान गरेका छन् । मेरियटमा बुधबार साँझ प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको थियो ।

पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो । सत्तारुढ दल नेकपा एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्वको साथ हेरिँदै आएको छ ।

भेटपछि दुबै नेता प्रफुल्ल मुद्रामा होटलबाट बाहिरिएका थिए । तर कसैले पनि वार्ताबारे प्रतिक्रिया भने दिएका थिएनन् । गत चैत २ गते एमाले कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच बुधबार वार्ता हुन पुगेको थियो भने बिहीबार त्यसैलाइ निरन्तरता दिइएको हो ।

प्रधानमन्त्री ओलीले नेता माधव नेपालसहितका नेताहरुलाई पटक-पटक स्पष्टीकरण सोध्दै पार्टीको साधारण सदस्य र सांसद पदबाटै हटाउने चेतावनी दिँदै आएका छन् । माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी बनाइरहेको छ । तर मध्यम तहका नेताहरुले पार्टी फुटबाट जोगाउन अध्यक्ष ओलीलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया