ओली नै फेरि प्रधानमन्त्री बन्नुले धेरै आशङ्का उब्जिएको छ : नेता पौडेल

admin

काठमाडौं, ३१ बैशाख : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कैयौँ संशय उब्जाएको उनले बताए ।

शुक्रबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग बोल्दै नेता पौडेलले देशको राजनीति रहस्यमय बाटोमा अघि बढेको र सयौँ संशय उब्जाएको बताएका हुन् । उनले अझै पनि संसद् विघटन गर्ने प्रयत्न जारी नै रहेको दाबी गरे ।

नेता पौडेलले भने, ‘झन् रहस्यमय बाटोतिर जाँदै छ । धेरै संशयका कुराहरू छन् । पहिलो कुरो त संसद्लाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसद्ले पूरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । नागरिकले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासा हुन थाल्यो भने फेरि नागरिक नै बाँच्ने कुरा आउँछ । त्यसकारण नागरिक बाँच्ने कुराको पनि चिन्ता छ ।’

प्रतिक्रिया