ओली र दाहालबीच छलफल

admin

काठमाडौं, २१ असार : प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छलफलमा दुवै पक्षबाट अरु चार जना दोस्रो तहका नेताहरुपनि सहभागी भएका छन् । दुई अध्यक्षसँगै महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा जनार्दन शर्मा र वर्षमान पुन सहभागी भएका छन् ।

शुक्रबार भएको वार्ता सकरात्मक रहेको बताएका नेताहरुले आइतबार सहमति कायम हुन सक्ने बताएका छन् । सबै विषयमा खुलेर कुराकानी भएकाले एकतालाई थप बलियो बनाउन सक्ने बताइएको छ ।

शनिबार दुई अध्यक्षबीच हुने भनिएको छलफल हुन सकेको थिएन । शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक पनि सोमबारसम्मको लागि स्थगित भएको छ ।

पार्टी भित्र विवाद लम्बिंरहँदा शनिबार मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भैरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आआफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिएका थिए ।

ओलीको यो अभिव्यक्तिपछि दाहालसहित नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए । स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको छ ।

ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया