कटेजमा ताल्चा, बैंकमा ऋण : तनावमा पर्यटन व्यवसायी

राष्ट्रिय समाचार समिति

इलाम, २३ असार :झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा हुनुहुन्छ । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उहाँ तनावमा पर्नुभएको हो ।

दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोल्नुभएको थियो तर अहिले त्यो कटेज बन्दाबन्दी शुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि कटेजको लिज भाडा, बैंकको ऋण र साहुको पुरानो रकमले यतिबेला आचार्यको मन पोल्छ ।

“दुई वर्षअघि मात्र लिजमा लिएको, कमाइ पनि राम्रै थियो”, आचार्य भन्नुहुन्छ, “अब अहिले त के गर्ने न कसो गर्ने भइयो । लकडाउनको समयमा पनि भाडा त लागेको छ । कसरी तिर्ने ?” रु १५ लाख लगानी गरेर आचार्यसहित दुई जनाले कटेल सञ्चालन गर्नुभएको थियो । “लकडाउनले गर्दा कटेज त खोल्नै पाएको छैन । साहुले केही महिनाको भाडा छुट दिए भनेचाहिँ चलाउन सकिन्छ”, आचार्यले भन्नुभयो ।

बीस जना क्षमता भएको कटेज चलाउनुभएका आचार्यले यो सिजनमा विगतका वर्षमा मासिक खर्च कटाएर रु ९० हजारसम्म बचाउनुहुन्थ्यो । अहिले कटेज नै बन्द भएपछि दैनिकी चलाउनसमेत सकस पर्दै गएको उहाँ बताउनुहुन्छ । भ्रमण वर्षको समयमा उल्लेख्य फाइदा लिने सोच बनाउँदै गर्दा कोरोनाको समस्याले आजित बनाएको आचार्यको भनाइ छ ।

दैनिक ४०० हाराहारीमा पर्यटक भित्रिने अन्तुमा पर्यटन व्यवसाय नै ठप्प हुँदा नसोचेको घाटा व्यहोर्नुपरेको घरवास (होमस्टे) सञ्चालक धनबहादुर आले बताउनुहुन्छ । आलेका अनुसार सिजनकै समयमा बन्द गर्नुपर्दा व्यवसायीले ऋणको चर्को ब्याजदर सामना गर्नुपर्दैछ भने पर्यटकीय क्षेत्र पहिलेकै स्तरमा पु¥याउनसमेत समस्या पर्ने भएको छ ।

मुलुककै प्रमुख पर्यटकीय क्षेत्र श्रीअन्तु सुनसान बनेपछि व्यवसायीले खुलाउन पहल गर्दै आएका छन् । महामारीमा होमस्टे र कटेज खोल्दा पर्यटक आए पनि जोखिम बढाउने भएकाले व्यवसायी अन्योलमा परेका हुन् । कटेज खोल्दा महामारी फैलिएमा आफँैले जिम्मा लिनुपर्ने भएकाले पनि खोल्न नसकिएको अन्तु पर्यटन व्यवसायी सङ्घका सचिव रुद्र घिमिरे बताउनुहुन्छ ।

रुँगालोका भरमा घरवास
घरवासमा चहलपहल शून्य भएपछि यतिबेला अन्तुका घरवासमा रुँगालो मात्र राख्न थालिएको छ । होटलका कर्मचारीसमेत घर पठाएपछि घरवास सुनसान हुने गरेको सचिव घिमिरे बताउनुहुन्छ । “कोही इलामका त कोही भारतकै पनि कर्मचारी राखिएको थियो तर अहिले सबै घर गइसके”, घिमिरेले भन्नुभयो, “सधैँ बाक्लो चहलपहल भइरहने यो क्षेत्रमा अहिले सुनसान छ ।”

उहाँले घरवास सञ्चालन गर्न पहल भए पनि महामारी फैलिएमा अझै समस्या आउने भएकाले खोल्न नसकिएको बताउनुभयो । धेरैजसो पर्यटक गर्मी छल्नका लागि अन्तु आउने गर्दथे तर गर्मीकै सिजनमा बन्द भइदिँदा व्यवसायीलाई धेरै नोक्सान भएको घिमिरेको भनाइ छ ।

प्रतिक्रिया