कतारमाथि नेपालको लगातार दोस्रो जित, टी २० सिरिज नेपाललाई

admin

काठमाडौँ, मंसिर १ : नेपाली महिला क्रिकेट टोलीले कतारसँगको टी २० सिरिज एक खेल बाँकी छँदै जितेको छ। आज सम्पन्न खेलमा कतारमाथि ६१ रनको जित निकालेसँगै लगातार दुई खेल जितेर सिरिज आफ्नो नाममा गरेको छ।

कतारस्थित वेस्ट इण्ड पार्क स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कतार १९.३ ओभरमा ६८ रनमा समेटिएको थियो।

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि रुविना क्षेत्रीले अर्धशतकीय पारी खेलिन्। उनले सर्वाधिक ५० रन बनाउँदा कविता कुवरले ३१ रन जोडिन्। त्यस्तै अप्सरी बेगम २३ रनमा अविजित रहिन्।

बलिङतर्फ कतारकी एन्जेलिन मरेले सर्वाधिक २ विकेट लिँदा एलेना खान, सबीजा पनियान र साची डाड्वलले समान १/१ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको कतारका लागि कप्तान आएसा र केरी पउनसेटले मात्र दोहोरो अंकको रन जोड्न सके। आएसाले २४ रन बनाउँदा केरीले १५ रन बनाइन्।

बलिङतर्फ नेपालकी सरस्वती कुमारीले सर्वाधिक ४ विकेट लिँदा रुविना क्षेत्रीले २ विकेट तथा सबनम राई, सङ्गिता राई र कविता जोशीले समान १/१ विकेट लिए। यसअघि सिरिजको पहिलो खेलमा नेपालले मंगलवार कतारमाथि ११९ रनको फराकिलो जित निकालेको थियो।

प्रतिक्रिया