कमल र दिलीपबीच उपाधि भिडन्त

admin

पोखरा, १६ असोज : पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधिका लागि नेपालका शीर्ष वरियताका कमल भण्डारी र भारतका दिलीप मोहन्तीबीच प्रतिस्पर्धा हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित सो प्रतियोगिताको सोमबार भएको खेलमा कमलले भारतका स्वर्णद्वीपसिंह ढोंढीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यस्तै मोहन्तीले नेपालका महेश श्रेष्ठलाई ७–६, ४–६ र ६–३ ले हराए ।

त्यस्तै ५५ वर्षमाथिको एकल प्रतिष्पर्धामा कमल थापाले भारतका आदित्य कर्नानीलाई ६–३ र ६–१ को सोझो सेटमा पन्छाउँदै फाइनलका लागि स्थान सुरक्षित गरे । उपाधिका लागि थापाले कृष्णराज घले र पोखराका अनिल तुलाचनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको डबल्समा भारतका अभिनास कुँवर र दिलीप मोहन्ती फाइनल प्रवेश गरेका छन् । कुँवर र मोहन्तीको जोडीले नेपालका कमल भण्डारी र महेश श्रेष्ठको जोडीलाई ६–४, २–६ र १०–८ ले पराजित गरे । त्यस्तै पोखराका धरमबहादुर लामिछाने र भारतका सुरेन्द्रसिंह ढोंढीको जोडी पनि फाइनल पुगेको छ । लामिछाने र ढोंढीको जोडीले पोखराकै गोपीबहादुर भट्टराई र शरण गुरुङको जोडीलाई ६–१ र ६–१ ले पराजित गरे ।

यस्तै ४५ वर्ष माथिको डबल्समा भारतका पवन जैन र नारायण मूर्ती फाइनलमा पुगेका छन् । सो जोडीले नेपालका सुवर्ण ढाक्वा र प्रताप मोक्तानको जोडीलाई ६–१ र ६–४ को सेटमा पराजित गरे । यस्तै ५५ वर्ष माथिको डबल्समा भारतकै अरुण अग्रवाल र सुरेन्द्र मुर्ताजीको जोडीले नेपालका मनोज राणा र भारतका पवन जैनको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सो जोडीले पोखराका समिर शेरचन र अनिल तुलाचनको जोडीलाई ६–४ र ६–२ ले तथा राणा र जैनको जोडीले कमल थापा र झ्याम्बा ढुण्डुपको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । विभिन्न उमेर समूहका सेमिफाइनल खेल आज हुने आयोजक सङ्घ कास्कीका सदस्य प्रिती बरालले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया