कम्युनिस्ट प्रधानमन्त्रीको राजसी ‘बर्थडे’

admin

काठमाडौं, फागुन १२: कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहिताको समेत उल्लंघन गरेका छन् । गत ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्ताका लागि आचारसंहिता जारी गरेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तर, प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइयो ।


प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि जन्मोत्सव कार्यक्रममा पुगे । गाउँपालिकाले प्रधानमन्त्रीको जन्मदिनलाई भव्य बनाउन ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्ल्याक्स र ६९ कलसको व्यवस्था गरेको थियो । कलस बोकेर स्कुले बालबालिका प्रधानमन्त्रीको स्वागतमा उभिएका थिए । गाउँ गाउँबाट बृद्धबृद्धालाई गाडीबाट कार्यक्रममा ल्याउने व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्रीसहितका मन्त्री र नेताहरू चढेको हेलिकप्टर ल्याण्ड गराउन आठराइ गाउँपालिकाको पहलमा ओलीनिवास छेउमै हेलिप्याड बनाइएको थियो । नेकपाको स्थानीय कमिटीले दुई÷तीन महिना अघिदेखि ओलीको स्वागतको तयारी गरेको थियो । प्रधानमन्त्री ओली सेनाको एमआई–१७ हेलिकप्टरमा पत्नी राधिका शाक्यसहित पाँचथर हुँदै सवा एक बजे आठराइ उत्रिएका थिए ।

सेनाकै अर्को हेलिकप्टमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए ।

प्रतिक्रिया