करोडौँ राजश्व छल्ने मसला उद्योगीविरुद्ध मुद्दा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २४ भदौ: बाँकेको नेपालगञ्जस्थित नेपाल पान मसला उद्योगका सञ्चालक कुतबुद्दिन शेखविरुद्ध राजश्व अनुसन्धान विभागले करोडौँ राजश्व छलेको अभियोगमा मुद्दा दायर गरेको छ ।

राजश्व चुहावट गरेको अभियोगमा रु सात करोड ५२ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । उक्त उद्योगले अन्तःशुल्क स्टिकर टाँस नगरिएको तथा २०७३ देखि २०७६ सम्मको कारोवारमा गरिएको अनुसन्धानमा राजश्व छली गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

अनुसन्धानमा कच्चापदार्थको हिसाबकिताब तथा लेखा लापरवाही तथा त्रुटिपूर्ण तरिकाले राखेको, कच्चापदार्थ एवम् प्याकेजिङ मालसामान खपत र सोबाट हुने उत्पादनको हिसाब नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्री वितरण गरेको पाइएको उहाँले बताउनुभयो ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार बिगो कायम हुन आएको रु सात करोड ५२ लाख असुल गरी शेखसमेतलाई जरिवाना र कैद सजाय मागदाबी लिई बाँके जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया