कर्णाली प्रदेशका सुत्केरीले ४८ सय पाउने

admin
  • खगेन्द्र हमाल

सुर्खेत : कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा प्रसूति हुने महिलालाई पोषण बापत थप दुई हजार रकम दिनेभएको छ।अब सुत्केरी महिलाले ४ हजार ८ सय रुपैयाँ पाउने भएका छन। प्रदेशको सामाजिक विकास मन्त्रालयले यही मंसिर महिनादेखि लागू गरेको सुत्केरी पोषण कोसेली कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले रु चार हजार ८ सय रुपैयाँ पाउने भएका छन् । यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायातबापत दुई हजार र चार पटक गर्भ जाँच गरेबापत ८ सय रुपैयाँ सघिय सरकार मार्फत पाउँदै आएका थिए ।कर्णालीका महिलाहरू अझै पनि घरमै सुत्केरी हुने गरेको भन्दै स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउन प्रोत्साहन स्वरुप प्रदेश सरकारले सुविधा थपेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको साउन एक गते देखिनै सुत्केरी भएका महिलाहरूलाई यो रकम प्रदान गरिने भएको छ।

कर्णाली प्रदेशमा रहेका विपन्न, गरीब महिलालाई पोषणमा केही राहत होस् भनेर यो कार्यक्रम ल्याईएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।यो कार्यक्रमले स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाहरूलाई प्रोत्साहन गर्ने सम्मेत जिकिर गरे।

पोषण भत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउन महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्यु दरमा कमी गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाई छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले भने यस कार्यक्रम अन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजक मार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने भन्दै यस कार्यक्रम गर्न चालु आर्थिक वर्षमा मन्त्रालयले चार करोड बजेट छुट्याइएको सम्मेत जानकारी दिए।

सुत्केरी महिलालाई प्रदेश सरकारले उपलब्ध गराएको पोषणवापतको थप दुई हजार रुपैयाँ सुर्खेत स्थित प्रदेश अस्पतालले भने सबैलाई नदिने जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वाग्लेले जानकारी दिए । प्रदेश अस्तपतालमा सुत्केरी भएका गरिब र विपन्न महिलालाई मात्र यो रकम पाउने छन।

प्रतिक्रिया