कर्णाली बासी लाइसेन्स लिन प्रदेश नं ५ धाउन बाध्य

admin
  • खगेन्द्र हमाल

सुर्खेत : कर्णाली प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)अहिलेसम्म जारी नहुँदा सेवाग्राहीहरुलाई धेरै सास्ती भोग्नु परेको छ। संघीयताले आँगनमै सेवा उपलब्ध हुने अपेक्षा गरेका कर्णालीबासीले अहिलेसम्म पनि लाइसेन्सका लागि छिमेकी प्रदेशमा धाउन बाध्य हुनु परेको छ। अघिल्लो वर्ष नै यो सेवाको सरुवात गर्ने घोषणा गरेको प्रदेश सरकारले हालसम्म आवश्यक प्रक्रिया अगाडि नबढाएकोले कर्णाली बासिले यो समस्या झेल्नु परेको हो।

प्रदेश सरकारले यसबारे चासो नदिएकै कारण हाल कर्णालीबाट सवारी संचालनका लागि आवश्यक पर्ने नयाँ लाइसेन्स जारी हुन सकिरहेको छैन।यसबाट प्राप्त हुने करोडौं राजस्वसमेत कर्णाली सरकारले गुमाइरहेको छ। प्रदेश सरकारले कर्णालीबाटै लाइसेन्स वितरण गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म दक्ष जनशक्ति र भौतिक पुर्वाधार व्यवस्थापन गर्न सकिरहेको भने छैन। परिणाम सर्वसाधारणहरु लाइसेन्स लिनका लागि प्रदेश नम्बर ५ र अन्य जिल्ला जान बाध्य छन्।

प्रदेश सरकारले लाइसेन्स वितरणका लागि हालसम्म आफ्नै ट्रायल सेन्टर निर्माणको योजनासमेत बनाएको छैन। प्रदेश सरकारका अधिकारीहरु नै तत्काल कर्णालीमा लाइसेन्स वितरण सम्भव नभएको बताउँछन् । आवश्यक प्राविधिक कर्मचारीको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालै लाइसेन्स वितरणको काम सम्भव नभएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले जानकारी गराउनु भयो।

सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयबाट सवारी साधनको कर, रुटपरमिट, सवारी दर्ता, नवीकरण, नामसारी र सवारी जाँचपासको मात्र काम हुँदै आएको छ। नयाँ लाइसेन्स वितरण हुन नसक्दा सेवाग्राही मर्कामा परेका हुन्। प्राविधिकतर्फका कर्मचारीबिना नयाँ लाइसेन्स जारी गर्न नसकिने भन्दै मन्त्रालयले अब कर्मचारी व्यवस्थापन गर्न लागिरहेको जानकारी दिएको छ।

यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख सुनिल लिम्बुले तत्काल लाइसेन्स वितरण गर्न सक्ने अवस्था नरहेको बताए। उनले भने,‘हामीसँग कर्मचारी छैनन्, कर्मचारीबिना कसरी लाइसेन्स वितरण गर्ने ? हामीसँग आफ्नै ट्रायल सेन्टर र परीक्षा हल पनि छैन, त्यसको लागि आवश्यक पूर्वाधार नहुँदा पनि तत्काल यहाँबाट लाइसेन्स वितरण गर्न कठिन छ भन्नुभयो।

केही बर्ष पहिलेदेखी कर्णाली प्रदेश जुम्लामा रहेको यातायात व्यवस्था सेवा कार्यालयले मात्रै सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको थियो। बाँकी नागरिकले नेपालगंज र अन्य जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सम्बन्धी काम गर्नुपर्ने बाध्यता थियो। तर जुम्लामा पनि प्राविधिकतर्फका मेकानिकल सुपरभाइजर इन्जिनियर नहुँदा नयाँ लाइसेन्स वितरणको काम एक वर्षदेखि बन्द भएको छ।

प्रदेश सरकारले प्राविधिक कर्मचारीको व्यवस्था गरिदिने र काम सुरु गर्ने भने पनि हालसम्म कुनै कर्मचारी नआएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख निरजंग शाहीले बताए। कर्मचारी अभावका कारण सेवा प्रवाह नै बन्द गर्नु परेको उनको भनाइ छ। लाइसेन्स वितरण बन्द भएपछि सेवाग्राहीलाई प्रदेश नम्बर ५ को नेपालगंज लगायतका स्थानमा पुग्नुपर्ने बाध्यता भएको हो।

प्रतिक्रिया