कर्णाली विवाद समाधान सम्बन्धमा ओली-दाहालबीच मत बाझियो

admin

काठमाडौं, कात्तिक ४ : कर्णाली प्रदेश सरकारको विवाद समाधानबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै मत बाझिएको छ । विवाद समाधानका लागि मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भएको छलफलमा विवाद कसरी समाधान गर्ने भन्ने विषयमा मत बाझिएको हो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले कर्णाली प्रदेश सरकारमा देखिएको विवाद केन्द्रबाटै मिलाउन प्रस्ताव गर्नुभएको थियो । तर, अर्का अध्यक्ष दाहालले प्रदेशको विवाद प्रदेशलाई नै मिलाउन दिनुपर्ने अडान राख्नुभएको थियो ।

अध्यक्ष ओली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र मुख्यमन्त्रीले कारबाही गरेका प्रदेश संसदीय दलका प्रमुख सचेतकलाई गरिएको कारबाही फिर्ता हुनुपर्ने अडानमा हुनुहुन्छ भने अध्यक्ष दाहाल संघीयताको मर्म र भावनाअनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी कमिटी र प्रदेशसभालाई निर्णय गर्न दिनुपर्ने अडानमा हुनुहुन्छ ।

प्रदेशको विवाद समाधानका लागि गएको शनिबार अध्यक्ष ओेलीले बोलाएको संयुक्त छलफलमा सहभागी हुन अध्यक्ष दाहालले इन्कार गर्नुभएको थियो । कर्णाली प्रदेश विवाद समाधान कसरी गर्ने भन्ने विषयमा अध्यक्षद्वयबीच नै मत बाझिएपछि कर्णाली प्रदेश सरकार विवाद थप लम्बिने देखिएको छ ।

प्रतिक्रिया