कर्मचारीको २० प्रतिशत तलब वृद्धि

शर्मिला गुरुङ

काठमाडौँ,, १५ जेठ  :  नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ । आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७६÷०७७ को बजेट अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको शुरु तलबमानमा २० प्रतिशतसम्म वृद्धि गरेको घोषणा गर्नुभएको हो । उहाँका अनुसार आगामी साउनदेखि लागू हुने गरी राजपत्राङ्कित श्रेणीका कर्मचारीका २० प्रतिशत र राजपत्राङ्कितको १८ प्रतिशतले वृद्धि गरिएको छ ।

कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापकको तलब वृद्धि भएको हो । सरकारले तीन वर्षपछि कर्मचारीको तलब वृद्धि गरेको हो । यसअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेका सरकारकोतर्फबाट तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेले विसं २०७३ मा कर्मचारीको तलब वृद्धि गर्नुभएको थियो ।

सरकारले महङ्गीभत्ता, पोशाक सुविधा र जीवन बीमालाई भने यथावत राखेको छ । यसबाट कर्मचारीको मनोबल उच्च भई पेशागत निष्ठा बलियो हँुदै सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्री खतिवडाले जानकारी गराउनुभयो । कर्मचारीको सरुवा पुरस्कार सजाय र वृत्तिविकास र क्षमता अभिवृद्धिलाई कार्यसम्पादनमा आधारित बनाइने बजेटमा उल्लेख गरिएको छ । योगदानमा आधारित निवृत्तिभरण कोष सञ्चालन गर्नका लागि संस्थागत व्यवस्था मिलाइने बताइएको छ । रासस

प्रतिक्रिया