कसको कारण दुर्घटना ? अर्कालाई दोष दिँदै पन्छिँदै जिम्मेवार निकाय

admin

काठमाडौं, ३ पुस: केही दिनअघि मात्र सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए भने १८ जना घाइते भए । सिन्धुपाल्चोकमा महिना दिनभित्र भएको यो दोस्रो ठूलो दुर्घटना थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जना नागरिकले ज्यान गुमाउनुपरेको थियो भने चार दर्जन घाइते भएका थिए ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा ठूला दुर्घटना भएका छन् । १७ मंसिरमा बागलुङमा भएको जिप दुर्घटनामा १० र ११ मंसिरमा अर्घाखाँचीमा भएको बस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । म्याग्दीको मालिका गाउँपालिका–७ मा भएको बस दुर्घटनामा चार जना विद्यार्थीको मृत्यु भएको थियो । सानातिना दुर्घटना दिनदिनै थपिएका थपियै छन् ।

ट्राफिक प्रहरीका अनुसार गत वर्ष सडक दुर्घटनामा २ हजार ७ सय ८९ को निधन भएको थियो भने गत साउनदेखि हालसम्म ९ सय २१ जनाको निधन भएको छ ।पछिल्लो सिन्धुपाल्चोकको सडक दुर्घटनापछि भने प्रधानमन्त्री केपी शर्मा ओली आफैंले चासो देखाएका छन् । उनले सम्बन्धित निकायलाई बोलाएर छलफल गरे भने दुर्घटना रोक्नेबारे कदम चाल्न निर्देशनसमेत दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा समितिसमेत गठन गरेको छ ।

अहिले दुर्घटना हुनुको कारणबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । सरोकारवाला निकायहरू भने एकले अर्कालाई दोष दिएर पन्छिने दाउमा देखिएका छन् ।दुर्घटना न्यूनीकरणबारे बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा सडक विभागका महानिर्देशक केशव शर्माले मानवीय कारण नै दुर्घटनाको मुख्य कारण रहेको बताए ।

उनले सिधै नअथ्र्याए पनि चालकको लापर्बाही र व्यवसायीको कारण दुर्घटना हुने गरेकोमा जोड दिए । उनले स्थानीय तहले सडक निर्माण गर्ने गरेको तर त्यो सडक सवारी चलाउन उचित भए नभएकोबारे सेफ्टी रोड अडिट नहुने हुँदा त्यसले पनि दुर्घटना निम्त्याउने गरेको बताए । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया