कस-कसले गर्न पाउँछन् कोरोनाको निःशुल्क परीक्षण र उपचार?

admin

काठमाडौं : सरकारले कोरोनाको नि:शुल्क परीक्षण र उपचार गर्नुपर्ने वर्ग र समूह निर्धारण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको छ।

सरकारले तय गरेको नयाँ मापदण्ड अनुसार कोरोनाको नि:शुल्क परीक्षण र उपचार सबैले पाउने छैनन्। मन्त्रिपरिषद्को यही असोज १९ गतेको निर्णयानुसार विपन्‍न, अशक्त, असहाय, एकल महिला, अतिअपांगता भएका, ७० वर्षमाथिका जेष्ठ नागरिकले कोरोनाको नि:शुल्क परीक्षण तथा उपचार सरकारबाट पाउनेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी र सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना जाँच र उपचार हुनेछ।

सरकारले के भन्यो ?
नागरिकको स्वास्थ्य उपचार र जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दै अफबाहमा नलाग्न सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविध मन्त्री पार्वत गुरुङले पनि आग्रह गरेका छन्।

सोमबार मन्त्रालयमा मन्त्रिपरिषदको असोज २६ र २९ गतेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन्। उनले राज्यले सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्थापन र प्रबन्ध मिलाएको समेत बताएका छन्।

स्वास्थ्य संरचनाको विस्तार, परीक्षणको दायरा फराकिलो बनाउन र उपचारको सुविधा उपलब्ध गराउनुले सरकार गम्भिर भएको पुष्टि गरेको पनि उनले बताए।

‘आर्थिक रुपमा विपन्‍न वर्ग, असहाय, अशक्त, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विशेष रुपमा रहेका वर्गको निम्ति सरकारले निःशुल्क उपचारको व्यवस्था गरिएको छ’, उनले भने, ‘ रोगको संक्रमण विस्तार हुँदै गएपछि काठमाडौं उपत्यकामा थप २ सय र उपत्यका बाहिर २ सय उच्च किसिमको प्रविधिसहितको सघन उपचार कक्षको विस्तार १५ दिन भित्र गरिसक्ने निर्णय समेत छ।’

यसबाहेक काठमाडौं उपत्यकामा रहेका क्वारेन्टाइन सेन्टरहरूलाई आइसोलेसन सेन्टरको रुपमा विस्तार गर्ने निर्णय हुनुले सरकार जनताको जीवन र स्वास्थ्यप्रति गम्भीर भएको पुष्टि हुने उनले बताए।

प्रतिक्रिया