कांग्रेसभित्रको एक महिना लामो विवाद अन्त्य

admin

काठमाडौं, माघ १० : नेपाली कांग्रेसभित्र लामो समयदेखि चर्किएकोे आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको शीर्ष नेताको बैठकमा कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने सहमति जुटेको हो । शीर्ष तहमा भएको सहमतिलाई केन्द्रीय समितिबाट टुंग्याउन यही माघ १३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

शीर्ष नेताबीचको सहमतिमा १४औं महाधिवेशन गएको पुस ११ गते बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार ०७७ फागुन ०७ देखि १० गतेसम्म हुने भएको छ । महाधिवेशन तोकिएकै मितिमा हुने सहमति भएपनि तल्ला तहका अधिवेशनको कार्यतालिका भने परिमार्जन गरिने छ । त्यसैगरी, सभापति देउवाले प्रस्ताव गर्दै बहुमतका आधारमा पारित भएको ४७ विभाग बढाउने निर्णय भने यथावत् रहने जनाइएको छ ।

क्रियाशील सदस्यता छानबिनका लागि नयाँ समिति बनाउने सहमति पनि भएको छ । समितिलाई यसअघि नरहरि आचार्य नेतृत्वको समितिलाई जस्तै क्षेत्राधिकार दिइने छ । नेविसंघमा देखिएको विवाद समाधानका लागि तदर्थ समिति बनाइ ६ महिनाभित्र महाधिवेशन गर्ने दुई पक्षबीच सहमति भएको छ ।

तदर्थ समितिमा रहनेले महाधिवेशनमा उम्मेदवारी दिन पाउने छैनन् । विभाग र केन्द्रीय कार्यसम्पादन समितिमा ४० र तरुण दलमा ३५ प्रतिशत पौडेल पक्षलाई दिने समझदारी बनेको बताइएको छ ।

प्रतिक्रिया