कांग्रेसभित्र आम एकताको खाँचो छ : नेता सिटौला

admin

काठमाडौँ, मङ्सिर २३ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताउनुभएको छ । आज यहाँ आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई ईमान्दारिताको वाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताउनुभएको हो ।

“पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति केन्द्रीत होइन पार्टी केन्द्रीत गराएर अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । राजनीति आफ्ना लागि होइन जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उहाँको भनाइ थियो ।

नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औँ महाधिवेशनमा स्थापित गराएर छाड्ने बताउनुभएको छ । “अभाव, सङ्कट र दुःखमा साथ दिने साथीहरुका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु”, उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले पार्टीभित्रका गलत प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई थप बलियो र मजबुद बनाउनका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाईँलगायतले समयसापेक्ष विचार अगाडि बढाउन सकेमात्र कांग्रेस अगाडि बढ्न सक्ने बताउनुभयो ।

उहाँहरुले पार्टीको १४औँ महाधिवेशनमा पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो । प्रदेश १ का नवनिर्वाचित सभापति उद्धव थापाले पार्टीको १४औँ महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया