कांग्रेस महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक

admin

काठमाडौँ, मङ्सिर २३ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । जसअनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ ।

कांग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुनेछ । यस्तै दावी विरोधको समय २५ गते बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ ।

मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको समितिले जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रियसभा गृहमा हुनेछ । यस्तै सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै गरिनेछ ।

सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ । यसैबीच काँग्रेसले महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेबसाइट मार्फत् कांग्रेसले ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरेको हो ।

तर, सर्लाहीमा भने निर्वाचन क्षेत्रस्तरीय अधिवेशन हुन नसकेकाले महाधिवेशन प्रतिनिधिको नाम सूचिमा समावेश गरिएको छैन । पूरा नामावली पछि राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नाम सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया