कांग्रेस महाधिवेशन प्रजातन्त्रकै भविष्यका लागि महत्वपूर्ण : प्रधानमन्त्री देउवा

admin

काठमाडौँ, मङ्सिर २३ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन कांग्रेसको लागि मात्रै नभएर नेपालकै प्रजातान्त्रिक भविस्यका लागि महत्वपूर्ण हुने बताउनुभएको छ ।

बिहिबार कांग्रेस नेता डा. प्रकाशशरण महतद्वारा लिखित नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

देउवाले महाधिवशेनका लागि सबै उत्साहित भएको भन्दै यस उत्साहपूर्ण घडीमा महाधिवशेन गरेर फर्किंदा सबैले पार्टीलाई बलियो बनाएर कांग्रेसलाई पहिलो पार्टी बनाउन लागिपर्न आग्रह समेत गर्नुभयो ।

उहाँले महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको बताउनुभयो । देउवाले महाधिवेशनमा आफूहरु सकभर सहमतिबाट अगाडि बढ्ने र सहमति नभएन प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धा हुने उल्लेख गर्नुभयो।

उहाँले प्रतिस्पर्धामा स्वभाविक रुपमा जितहार हुने भएपनि त्यसलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लेखक डा. प्रकाशशरण महतले देउवाकै नेतृत्वमा एकताबद्ध कांग्रेस बनाएर आगामी निर्वाचन जित्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले पार्टीमा भएका मतान्तरलाई सम्बोधन गरेर सहमति गराएर लैजान सकेकाले नै पार्टी एकताबद्ध भएको भन्दै अरु पार्टीमा त्यसखालको नेतृत्व नभएकाले विभाजित भएको महतको भनाइ छ।

त्यस्तै नेपालको आर्थिक सामाजिक रुपान्तरण गर्न आर्थिक समृद्धि सृजना गरेर समाजवादमा पुग्ने लक्ष्य राख्नुपर्ने महतले बताउनुभयो ।

उक्त पुस्तक महतले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्ययनरत रहँदा तयार पार्नुभएको थेसिसको संशोधित रुप रहेको उहाँले जानकारी दिनुभयो । उहाँले कांग्रेसको पहिलो जननिर्वाचित सरकारको आर्थिक नीतिको विषयमा थेसिस लेख्नुभएको थियो ।

प्रतिक्रिया