कांग्रेस-माओवादी पछि हटे, फेरि ओली नै प्रधानमन्त्री

admin

काठमाडौं, ३० वैशाख : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेका छन्। बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिन लागेका बेला उनीहरु पछि सरेका छन्। यससँगै अब एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुन: सरकार बन्ने लगभग पक्का भएको छ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि वैकल्पिक सरकार गठनको दावी गर्दै राष्ट्रपति समक्ष दावी प्रस्तुत गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको जसपा तत्काल पछि सरेका हुन्। एमाले अध्यक्ष ओली र एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालबीच वार्ता भएपछि नेपालसम्बद्ध सांसदहरुले पूर्व घोषित कार्यक्रम अनुसार आज दिने भनिएको राजीनामा नदिने भएका थिए।

त्यसअघि बिहीबार नै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पनि देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने भनेर पन्छिएका थिए। यी घटनाक्रमसँगै देउवा -प्रचण्ड सरकार गठनको दावी नगर्ने निष्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा नेता महन्थ र यादव गुट बिच विवाद रहेकाले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछि हट्न बाध्य भएका हुन् ।

सरकार गठनमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भए ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट भइसकेको छैन । यसरी सरकार बनिने सरकारले पनि ३० दिन भित्र पुन विश्वासको मत लिनु पर्नेछ।

प्रतिक्रिया