कांग्रेस विवाद : ‘ब्याक’ हुँदै देउवा

admin

काठमाडौं, ३ माघ : कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीभित्रका आन्तरिक विवाद समाधानका लागि लचक हुने संकेत गरेका छन् । देउवाले ११ पुसको केन्द्रीय समिति बैठकमार्फत पार्टीको १४औं महाधिवेशनको मिति तोक्नेसहित बहुमतबाट विधानका केही धारासमेत निलम्बनको निर्णय गरेका थिए ।

सो निर्णयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निरन्तर असन्तुष्ट रहँदै आएपछि देउवाले विवाद समाधानका लागि विधानका धारा निलम्बनको विषयमा लचक हुने संकेत गरेका हुन् । ‘सभापतिको लक्ष्य नै महाधिवेशन हो, पछिल्ला निर्णयपछि पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका समूह झनै असन्तुष्ट भए ।

सबैको सुझावपछि सभापतिज्यू विधानका धारा निलम्बनको विषयमा केही लचक हुने गरी तयारी गरिरहनुभएको छ,’ देउवा निकट एक नेताले भने । देउवाले कांग्रेसभित्रको पछिल्ला विवाद समाधानका लागि गत आइतबार बूढानीलकण्ठस्थित निवासमा वरिष्ठ नेता पौडेल र सिटौलालाई बोलाएर छलफल गरेका थिए ।

सो छलफलमा विवाद समाधानका लागि अग्रसरता लिन भन्दै देउवाले सिटौलालाई आग्रहसमेत गरेका थिए । त्यसयता बुधबार र बिहीबार सिटौलासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधिबीच दुईपटक वार्ता भएको छ । ‘सभापतिजीले कसरी सहमति हुन्छ, त्यसरी नै जाऔं भन्नुभएको छ तर कन्टेन्टमा छलफल सुरु भएको छैन,’ पूर्वमहामन्त्री सिटौलाले राजधानीसँग भने ।

उनले महाधिवेशनलाई कसरी निष्पक्ष बनाउन सकिन्छ र कसरी सबैले परिणाम मान्ने गरी वातावरण निर्माण गर्न सकिन्छ, त्यसतर्फ आफूले सभापतिलाई अघि बढ्न सुझाएको जानकारी दिए । ‘१४औं महाधिवेशनलाई कसरी निष्पक्ष बनाउन सकिन्छ र कसरी परिणामलाई सबैले मान्ने गरी विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने महत्वपूर्ण विषय हो, त्यसतर्फ सभापतिलाई अघि बढ्न सुझाएका छौं । सहमति नहुने अवस्था पनि छैन,’ सिटौलाले भने ।

वरिष्ठ नेता पौडेल भने हाल उपचारका लागि भारतमा छन् । उनी फर्किएपछि सिटौला, सिंह र निधिबीच भएको सहमतिलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । कांग्रेसको केन्द्रीय समिति बैठक ११ पुसयता बस्न सकेको छैन । विभाग गठन, विधानका धारा निलम्बन, महाधिवेशनको कार्यतालिकामा एकलौटीलगायत विषयलाई लिएर असन्तुष्ट समूहले निरन्तर बैठक बहिष्कार गरेपछि संस्थापन समूहले बैठक नै रोकेको थियो ।

के हो विवाद ?
सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल बहुमतबाट एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विवाद चर्किएको थियो । २६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन समूहले गत ११ पुसमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर कांग्रेसभित्रको संस्थापनबाहेकका नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले सो किसिमको निर्णयले पार्टीलाई दुर्घटनातर्फ लैजाने भन्दै असन्तुष्ट रहँदै आएका छन् । उनीहरूले निर्णय फिर्ता लिन माग समेत गर्दै आएका छन । केन्द्रीय समितिले २०७७ मंसिरबाट महाधिवेशनको प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका ल्याएको थियो । यस्तै, विधानमा व्यवस्था भएको २८ विभागलाई नाघेर संस्थापन समूहले ४७ विभागको प्रस्ताव स्वीकृत गरेको थियो ।

असन्तुष्ट समूहले भने २०७७ मंसिरमा नै केन्द्रीय महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् । सो समूहले संस्थापन समूहले ल्याएको कार्यतालिकालाई महाधिवेशन लम्ब्याउने खेल भएको आरापसमेत लगाउँदै आएको छ । उनीहरूले मंसिरमा महाधिवेशनको प्रक्रिया सुरु गरेर फागुनमा केन्द्रीय महाधिवेशन गर्न सम्भव नहुने भन्दै महाधिवेशन लम्ब्याउन साँघुरो घेराको कार्यतालिका देखाइएको आरोप लगाएका छन् ।

विधान मिचेर विभाग गठनको प्रस्ताव ल्याइएको र बहुमतका आडमा जबर्जस्ती स्वीकृत गरिएकोप्रति उनीहरूको असन्तुष्टि छ । यस्तै विधानका केही धारा निलम्बन गरिएको विषयमा पनि पौडेल र सिटौला असन्तुष्ट छन् । राजधानी दैनिकले खबर छापेकाे छ।

प्रतिक्रिया