काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्छ : नेता कोइराला

शर्मिला गुरुङ

चितवन, ९ चैत : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“गणतन्त्र र सङ्घीयता धरापमा परेको छ, त्यसको संरक्षणका लागि काङ्ग्रेस लड्नुपर्छ ।” मुलुकमा दण्डहिनता बढ्दै गएको बताउँदै उहाँले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाउनुभयो । राजनीतिक स्थिरता भए पनि वित्तीय संस्था धराशाही बन्दै जानु, व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा नेता कोइरालाले पार्टीलाई गिरोहले सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक संस्कारसँगै नैतिकता सिकाउँदै पार्टीलाई बलियो बनाउनु आवश्यक छ ।” काङ्ग्रेसलाई बलियो बनाउन महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै समयमा महाधिवेशन गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, सावित्री बोगटी पाठक, क्षेत्रीय सभापति कुमार कार्की, रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरे, उपसभापति केदार चापागार्इंलगायतले बोल्नुभएको थियो । कार्यक्रममा महासमिति सदस्य देवराज चालिसे र दिनेश कोइरालाले प्रशिक्षण दिनुभएको थियो । रासस

प्रतिक्रिया